लकडाउनमा ४७ हजार भित्रिए
नेपालगञ्ज – भारतका विभिन्न शहरमा पुगेका ४७ हजार बढी नेपाली लकडाउनको अवधिमा भित्रिएका छन् ।
पश्चिमको चलनचल्तीको नेपालगञ्ज नाकाबाट चैत्र ११ गतेदेखि हालसम्म ४७ हजार ४ सय ८९ जना भित्रिएका छन् । चैत्र ११ देखि ठप्प भएको नाका बैशाख अन्तिमतिर खुकुलो पार्दा नेपालीहरु धमाधम भित्रिएका हुन् । भारतमा समेत लकडाउनमा कडाई हुँदा नेपालीहरु भित्रिन पाएका थिएनन् । भारतमा अलि खुकुलो हुने बित्तिकै नेपाली भित्रिएका छन् ।
जेठ महिनामा मात्रै ३८ हजार नेपाली घर फर्किएका छन् । चैत्र १० गते आठ सय बढी नेपाली नेपालगञ्ज नाकामा आइपुग्दा कसरी घर पठाउने अन्यौल भएको थियो । धेरैबेरको छलफलपछि सबैलाई नगरबसमा राखेर महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज ल्याइएको थियो । तर, उनीहरु धेरैबेर त्यहाँ बसेनन् । ६ सय बढी मानिस पर्खाल नाघेर घरतिर हिडे । बचेकालाई स्थानीय प्रशासनले आफै घरतिर पठाइदियो ।
त्यसलगत्तै भारतमा कडाई भएपछि नेपाली आउन पाएका थिएनन् । कतिपय भने कयौं दिनसम्म हिडेर नाकासम्म आइरहेका थिए । जेठको शुरुवातसम्म आइपुग्दा भारतमा अलि खुकुलो भइसकेको थियो । त्यसपछि दैनिक तीन हजार बढीको दरले नेपाली भित्रिए ।
नेपालगञ्ज नाकाबाट सबैभन्दा धेरै दैलेखका मानिस भित्रिएका छन् । जसले गर्दा त्यहाँ कोरोना पनि बढी देखिएको छ । अहिले आएर भारतबाट नेपाल फर्किने नेपालीको संख्यामा कमी आएको छ । असार १५ गते नेपालगञ्ज नाकाबाट एक सय ९७ जना भित्रिएका छन् । जसमा कर्णालीका ४१ जना थिए । त्यस्तै, १४ गते २ सय ७७ जना भित्रिए । कर्णालीका ८० जना थिए ।
भारतको महाराष्ट्रबाट आएका नेपालीमा बढीजसो कोरोना देखिएको थियो । महाराष्ट्रबाट शुरुवातमै नेपालीहरु फर्किएका थिए । तर, प्रायः कर्णालीका मानिसहरु उत्तराखण्डमा जाने भएकाले पछिल्लो दिनमा आएकाहरुमा कोरोना कम देखिएको छ ।
भारतबाट आउनेको संख्यामा कमी र पछिल्लो पटक आएकामा कोरोना नदेखिंदा क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु खाली हुँदै गएका छन् ।