रमाइलो गाभर
खजुरा – गत शनिबार सय दिन पछिको पहिलो ठूलो सामुहिक राइड गरियो । नेपालगञ्जमा जम्मा भएका साइक्लिस्टहरु ३० जनाको समूह थियो, त्यो मध्ये १० जना कोहलपुर चौराहाबाट आतेजाते ३२ किलोमिटरको यात्रा तय गर्दै फिर्ता हुनुभयो भने बाँकी २० जनाको समूह अलि अपहिल राइडको खोजीमा कोहलपुरबाट उत्तरतर्फ १५ खोलासम्म पुगियो ।
हाम्रो समूहमा केही नयाँ राइडर्सहरु पनि हुनुहुन्थ्यो तर पनि समूहको रमाइलो र साथीहरूसँगको सहयात्राले नयाँ राइडर्सहरुलाई त्यो उकालो सकसपूर्ण भएपनि पार लगाएरै आइयो । चिसापानी ब्यारेक पार गर्नासाथ जंगल भित्रको बाटो र चिसो मौसम प्राकृतिक आनन्द सहितको त्यो उकालोमा पाइडल जोडतोडले मार्दै पुगियो १५ खोला । यो राइडमा सबैलाई उत्साह भर्दै हामीसँग हुनुहुन्थ्यो पप्पु थापा दाइ, जो अहिले सिंगापुर प्रहरीमा कार्यरत हुनुहुन्छ ।
अहिले छुिट्टमा घर आएको बेला नेपालगञ्जमा माउन्टेन बाइकिङको क्रेज र सबै पेशा, ब्यबसाय र उमेर समूहका मानिसको सहभागिता देखेर उहाँ मक्ख हुनुहुन्छ, सिंगापुर हुँदा प्रायः साइक्लिङमा निस्किरहने पप्पु दाइले १५ खोलाको राइडका बिच गफ्फिदै सुनाउनु भयो, यो लकडाउनका बीचको आफ्नो साइक्लिङ अनुभुती यसरी– म नेपालगञ्ज मै जन्मे हुर्केको रैथाने नेपालगञ्जिया तर नेपालगञ्ज वरिपरिका ठाउँ देखेकै रहेनछु । भर्खरै केही दिन अघि निबुवाटारसम्म साइकलमा पुगेर आउनुभएको उहाँले सुनाउनु भयो, नेपालगञ्जबाट जम्मा २५ किलोमिटर पूर्वतर्फ यति नजिकै लेक रछ यतिका बर्षसम्म थाहा थिएन तर साइक्लिङले जुरायो यो अवसर । पप्पु थापा यो लकडाउन र प्यानेडेमिक टाइमका बीच स्वास्थ्य, सतर्कता र भौतिक तथा सामाजिक दुरी कायम गर्दै हरेक बिहान् ३० देखि ८० किलोमिटरसम्मको साइकल यात्रा गरि बाँकेका लगभग सबै ग्रामीण क्षेत्र को भ्रमण गरेको सुनाउनुभयो ।
गत शनिबारको राइडसँगै साइक्लिङ टिमले गाभर भ्यालीमा खाजा खाना खाइयो अनि गाभरमा रहेको ४.५ किलोमिटरको जंगल भित्रको साइक्लिङ ट्रेलमा हाइकिङ समेत गरियो । गाभर साँच्चै मनमोहक र रमाइलो छ । बाँके राष्ट्रि निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने गाभर भ्यालिमा रारा (मुगु) बाट बिस्थापित भएर आएका मुगालीहरु अनि थारु समुदायको मिश्रित वस्ती छ र त्यहाँ थारु र मुगाली संस्कृति र खानपिनका परिकारहरु त्यहाँ रहेका होमस्टेमा खान पाइन्छ ।