७१ क्वारेन्टाइन र नौ आइसोलेसन सेन्टर ‘खाली’

नेपालगञ्ज – बाँकेमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली हुँदै गएको छ । जिल्लामा आजसम्ममा ७१ वटा क्वारेन्टाइन र नौ वटा आइसोलेसन सेन्टर खाली भइसकेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा एक सय १४ वटा क्वारेन्टाइन र १४ वटा आइसोलेसन सेन्टर थिए । त्यसमध्येमा अहिले ४३ वटा क्वारेन्टाइन र पाँच वटा आइसोलेसन सेन्टरमा मात्रै मान्छे बसेका छन् ।
बाँकेमा ४३ वटा क्वारेन्टाइनमा ५ सय ९८ जना बसिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा दुई वटा क्वारेन्टाइन रहेकोमा एउटा खाली भएको छ भने महेन्द्र बहुमुखी क्याम्पसमा ६६ जना बसिरहेका छन् ।
कोहलपुर नगरपालिकामा १३ वटा क्वारेन्टाइनमा २ सय २२ जना बसेका छन् भने तीन वटा खाली भएको छ । खजुरा गाउँपालिकामा १२ वटा क्वारेन्टाइनमा एक सय ३५ जना बसेका छन् । दश वटा क्वारेन्टाइन खाली भएको छ । जानकी गाउँपालिकाको आठ वटै क्वारेन्टाइन खाली भएको छ । यो गाउँपालिकामा क्वारेन्टाइनमा कोही बसेका छैनन् ।
बैजनाथ गाउँपालिकामा ११ वटा क्वारेन्टाइनमा एक सय ३० जना बसेका छन् भने ११ वटा क्वारेन्टाइन खाली भएको छ । डुडुवा गाउँपालिकाको एउटा क्वारेन्टाइनमा पाँच जना बसेका छन् । सात वटा क्वारेन्टाइन खाली भइसकेको छ । नरैनापुर गाउँपालिकाको तीन वटा क्वारेन्टाइनमा ३१ जना बसेका छन् । १४ वटा क्वारेन्टाइन खाली भएको छ । राप्तीसोनारी गाउँपालिकामा दुई वटा क्वारेन्टाइनमा नौ जना बसेका छन् । १६ वटा क्वारेन्टाइन खाली भएको छ ।
जिल्लामा १४ वटा आइसोलेसन सेन्टर बनेका छन् । त्यसमध्येमा नौ वटा खाली भएको छ । अहिले आइसोलेसनमा ३३ जना बसिरहेका छन् ।
क्वारेन्टाइनमा बसेकालाई आरडीटी जाँच गर्दै घर पठाउने काम भइरहेको छ । आरडीटी जाँच गर्दा पोजिटिभ देखिएकालाई पीसीआर जाँच हुन्छ । पीसीआर पोजिटिभ देखिएका व्यक्तिलाई १४ दिन राखेर घर पठाउने गरिन्छ ।
भारतबाट घर फर्किनेको संख्या घटेकाले क्वारेन्टाइनहरु खाली हुँदै गएका हुन् । आइसोलेसन सेन्टरमा बसेकाहरु पनि १४ दिन स्वतः घर जाने भएकाले आइसोलेसन सेन्टर खाली हुँदै गएका छन् । बाँकेमा ३ सय ५२ जना कोरोना संक्रमित भएकोमा ३ सय १७ जना निको भएर घर गइसकेका छन् । दुई जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !