कार्यालय भवनको शिलान्यास

नेपालगञ्ज – बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य शुरु भएको छ । अत्याधुनिक प्रविधिबाट निर्माण हुने सुविधा सम्पन्न भवनको सोमबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपधपूर्वक पुजापाठ गरि शिलान्यास गर्नुभयो ।
भवनको शिलान्यास गर्दै अध्यक्ष चौधरीले निर्माण हुन लागेको भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने बताउनुभयो । उहाँले गाउँपालिका भवन निर्माणको यो ठूलो परियोजना भएको भन्दै निर्माण कम्पनीलाई निश्चित अवधीभित्र कार्य सम्पन्न गर्न र गुणस्तरियता कायम गर्न अनुरोध गर्दै प्राविधिक तथा अनुगमन टोलीको भूमिका बढाउन अनुरोध गर्नुभयो ।
शिलान्यास कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, गाउँपालिका ३ नं. वडाध्यक्ष भण्डारीलाल यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतको सहभागिता रहेको थियो ।
गाउँपालिका वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण हुनेछ । चार तल्ले भवनमा चार सय जना क्षमता भएको ठूलो सेमिनार हल, सोनो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्ड रुम र लिप्टसहितको भवन निमार्ण हुने प्राविधिक शाखाका मदनेश्वर झाले बताउनुभयो ।
रोयल कन्सट्रक्सन धनगढीले भवन निर्माणको ठेक्का पाएको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ । भवन निर्माणका लागि ६ करोड संघीय सरकारबाट, करिब ३ करोड बढी जिल्ला समन्वय समिति बाँकेबाट अनुदान र बाँकी रकम गाउँपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनुभयो ।
गाउँपालिकाले अहिले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ भने बनकट्टीस्थित भवनको सभाकक्षबाट गाउँसभा बस्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !