यसरी जन्मिएका थिए, कुमार कार्तिकेय
नेपालगञ्ज – शिव पुत्र गणेशका बारेमा त भजनहरु, मंगलबारको व्रत, प्रथम पूजा आदिबाट केही न केही जानकारी प्राप्त गर्न सकिन्छ । यी पनि साह्रै न्युन मात्रामा छन् । उनको बारेमा समेत जानकारी वडो मुश्किलले प्राप्त हुन्छ भने ओझेलमा परेका उनका भाइ स्कन्द कुमार अथवा कुमार कार्तिकेयको बारेमा त स्वास्थानी व्रत कथा बाहेक र धेरै जसो धर्म ग्रन्थहरुमा कुमारजी आज्ञा गर्नुहन्छ भनेर उनले सुनाएका घटना क्रमबारे मात्र उल्लेख गरिएको पाइन्छ । अन्यथा उनी को थिए ? उनका योगदान के–के थिए भनेर जानकारी प्राप्त गर्न मलाई धेरै कठिन भयो ।
धेरै जसो ग्रन्थहरुमा कुमारजी आज्ञा गर्नुहुन्छ भनेर शुरुवात गरिएका वा ग्रन्थहरु सुनाएर सबै विद्धानहरुलाई आज्ञामृत बाँडेर हिड्ने प्रकाण्ड विद्धान र महान योद्धा कुमार कार्तिकेयलाई शिव पुत्रको रुपमा चिन्दछौं । उनको जन्मबारे पनि श्री स्वस्थानी ब्रत कथामा र गीताप्रेस गोरखपुरले प्रकाशित गरेको संक्षिप्त महाभारत प्रथम खण्ड वन पर्वमा केही फरक तरिकाले वर्णन गरिएको छ ।
स्वस्थानी ब्रत कथा १५ अध्यायमा शिवजीले संसार भुली माता पार्वतीसित मात्र रम्न थाल्नु भयो । यस प्रकार संसारको रक्षामा समस्या उत्पन्न भयो । त्यस कारण स्वर्गका राजा इन्द्रले अग्निसित श्री महादेवलाई बाहिर ल्याउने अर्थात जगतको रक्षा गर्ने काम स्मरण गराउन अनुरोध गरे । तदनुसार अग्नी कैलाश पर्वत तिर गए । तर द्वारपालले उनलाई प्रबेश गर्न दिएनन् अनि उनी ताल छिराउने प्वालबाट भित्र भिक्षुक भेषमा प्रबेश गरे, त्यस बखत श्री महादेव जगत माता पार्वतीसित एकान्त वासमा हुनुहुदोरहेछ । उनको यो धृष्टताले श्री महादेव अग्नीसित अत्यन्त कुपित हुनुभयो र अग्नीलाई भष्म गर्न लाग्नुभयो तर जगत जनती पार्वतीलाई उनी उपर दया लाग्यो । यसरी भिक्षाटन गर्न आएकालाई भष्म गर्नु अनुचित भएको भनेर महादेवलाई सम्झउनु भयो । भुलबंश उनी आए बरु केही दान दिई पठाउन अनुरोध गर्नुभयो । त्यसपछि महादेवको क्रोध केही शान्त भयो र उहाँले अग्नीलाई भिक्षाको रुपमा आफ्नो बिर्य दान दिनु भयो । तत्पश्चात अग्नीले उतm बिर्य निले अनि उनमा गर्भ रह्यो भनेर स्वस्थानी ब्रत कथा पन्ध्रौ अध्यायमा उल्लेख छ ।
भयभित अग्नी गंगा छेउ गई कुशको झ्याङमा उखेली दिए । त्यो बिर्य आगो जस्तो बल्न थाल्यो । सप्तऋषिका पत्नीहरु ग्ांगा स्नान गरेर फर्किदा अरुन्घतीले बाहेक अरु ६ वटीले उत्सुक्तावस त्यो आगो तापे जसले गर्दा उनीहरु ६ वटीलाई गर्भ रहन गयो । ऋषिहरुले गर्भवती भएको थाहा पाएर उनीहरुलाई श्राप दिए । त्यस पछि ती पुनः गंगा छेउमा गई त्यो गर्भलाई उकेली आकाशमा षटकृतिका तारा भएर बसे । त्यो उकेलिएको बिर्यबाट ६ मुख भएका कुमार उत्पन्न भएर गंगा पुत्र भई महादेव कहाँ कैलास पर्वतमा छोरा भई बस्न लागे भन्ने भनाई छ ।
महाभारतको वनपर्वमा कुमारको जन्म केही भिन्न तरिकाले प्रस्तुत गरिएको छ – पौराणिककालमा महर्षिगणले यज्ञ गरिरहेका थिए । उक्त यज्ञमा सप्तर्षिको आव्हानमा अग्नी देव गए । मन्त्रोच्चारणद्वारा दिएको वली अग्नी देवले ग्रहण गरे र अरु देउतालाई पनि बाँडे त्यस बखत अग्नी देव ऋषि पत्नीहरुको सौन्दर्य देखेर र ऋषि पत्नीहरु दुबै थरिको इन्द्रिय चञ्चल भयो । अग्नीले आफुलाई सम्हाल्न कठिन भएकाले त्यो यज्ञ स्थलबाट तुरुन्त प्रस्थान गरे साथै केही ग्लानी पनि भयो । किनभने ती ऋषि पत्नीहरु अत्यन्त पतिब्रता शुद्ध हृदयका थिए । आफ्नो कामुकताले गर्दा अग्नी देवमा साह्रै पश्चताप र ग्लानी भयो । तसर्थ अपराध बोधले गर्दा आत्महत्या गर्ने बिचार गर्न लागे । यी सबै कुरा उनकी बुद्धिमती पत्नी स्वाहालाई थाहा भयो अनि उनले भेष बदलेर ऋषि अंगिराकी पत्नी शिवाको रुप बनाइन् र आफ्नो पति अग्नीको तृप्ती गरिन् । अनि उतm बिर्यलाई हातमा लिएर एउटा सुनको कुन्डमा राखिन् यस प्रकार प्रत्येक दिन एउटी ऋषि पत्नीको रुप बनाएर ६ दिनसम्म आफ्ना पति अग्नीसित सम्भोग गरिन् र एवम् प्रकारले ६ दिनको बिर्य उक्त सुनको कुन्डमा संकलन गरिन् । केवल अरुन्घर्तीको तप र पतिब्रत्यको प्रभावले उक्त रुप बनाउन सकिनन् । यस यस प्रकार ६ दिनसम्म संकलित बिर्यबाट ६ मुख भएका कुमारको जन्म भयो । स्खलित विर्यबाट जन्मेकोले उनलाई स्कन्द भनियो । त्रिपुर बिनासक शिवले जब दैत्यहरुलाई बिनास गर्न बाण हाने अनि कुमारले त्यो बाण समातेर रोकिदिए र चराचरलाई जीवलाई संज्ञा शुन्य गरिदिए । फेरी उनले श्वेतपर्वमा गएर हिमाल पर्वतका छोरा क्रोञ्च पर्वतलाई बाणले बाँधिदिए । त्यही छिद्रबाट भएर हाँस र चराचुरुंगीहरु आज पनि मेरु पर्वत तिर उड्छन् भन्ने भनाई छ । क्रोञ्च पर्वत पीडाले कराउन थाले अनि कुमारले झन् ठूलो स्वरले सिंहनाथ गरे । उनको शक्तिले श्वेत गिरीको शिखर भत्क्यो । उनको यो कार्यले सबै भयभित भए र शुक्ल पक्षको पञ्चमीको दिन सबैले उनको पूजा गरे । उनको बल र पराक्रम देखेर इन्द्रादी देवहरु उनीसित युद्ध गरे तर उनले सबैलाई परास्त गरे । यस उपरान्त इन्द्रले आफ्नो इन्द्रासन ग्रहण गर्न अनुरोध गरे तर उनले अस्वीकार गरे बरु उनको सेनापति बन्ने वचन दिए ।
यस प्रकार उनको जन्मबारे पनि केही फरक मत छन् । महाभारको अनुसार उक्त अवसरमा शिवजीले अग्नी र पार्वतीले स्वाहको शरीरमा प्रबेश गरेका थिए । तसर्थ उनी शिव पार्वतीका पुत्र मानिन्छन् । जे होस उनको जन्म प्राकृतिक तरिकाले भएको थिएन, दुबै भनाइले प्रष्ट हुन्छ । उनको जन्मबारे श्रुती र स्मृती परम्पराबाट गुज्रदै आएको घटनाक्रमहरुले प्रस्तोतालाई स्मृती र ज्ञानको स्तर अनि स्रोतालाई बुझाउन स्रोताको ज्ञानको स्तर अनुसार पनि ब्याख्या गरिएको हुनुपर्र्छ । आजको बैज्ञानिक आविष्कारसित तुलना गर्दा उनि टेष्टट्युब बेबी नै हुनु पर्छ । जसलाई ब्याख्या गर्न अलमलिए जस्तो लाग्छ ।
जे होस उनी वीर योद्धा थिए । उनले कतिपय असुरहरुको वध गरेर पृथ्वीको भार हरण गरेका थिए ।
– उनी अत्यन्त विद्धान पनि थिए । उनले कैयौँ पुराण शास्त्रहरुको व्यापक प्रचार प्रासार गरेका थिए । उनले स्कन्द पुराण लेखेका थिए । त्यसो त उनको योगदानको कदर नेपाल र भारतमा कम भए जस्तो लाग्छ । तैपनि नेपालमा केही सम्प्रदायले घरको बाहिर आँगनका पुजा गर्ने प्रचलन अझै छ । बरु मुसलमान देश मलेसियामा उपको बिशाल र सुन्दर मूर्ति स्थापना गरि महत्वपूर्ण तीर्थ स्थल बनाइएको छ ।
– शिवजीको आग्रहमा उनले महिषासुरको बिनास गरेका थिए । (महाभारको पन्ध्र अध्यायमा)
– ताराका सुर दैत्यले पेचिमुनीको निर्देशनमा दुग्धप्रमा नदिको सिह्रानमा हिमालय पर्वतमा हजार वर्ष तपस्या गर्यो र ब्रम्हलाई प्रशन्न पार्यो । उसले ब्रम्हसित पाँच वर्ष नाघि सकेका कुनै प्राणीले उनको वध गर्न नसकुन् भनि बरदान पाएको थियो । तत्पश्चात अमरावती गएर युद्ध गर्न लाग्यो । उसका धेरै सेना मारिए पछि शुक्राचार्यले सञ्जिवनी विद्याले सबैलाई बचाइदिए । यो युद्धमा इन्द्रादी देव हारेर धेरै समयसम्म लुकेर बसे त्यस पछि महादेवका आज्ञाले गणेश र कुमार दुबै भाइले युद्धमा भाग लिए । दुबै पक्षमा घमासान युद्ध भयो अन्तमा कुमारले ताराकासुरको बध गरेर इन्द्रलाई अमरावती फर्काइदिएका थिए । उनको योगदान धेरै धेरै हुनुपर्छ तर मलाई उपलब्ध भएको तथ्यका आधारमा यति प्रस्तुत गर्न सके यस्ता वीर महान् व्यक्तिलाई शतशत नमन छ ।