घर पठाइएका पोजिटिभले कोरोना सारे कि !, अनुसन्धान खोइ ?
नेपालगञ्ज – बाँकेमा कोरोना ‘जितेर’ दुई सय ६० जना घर गए । दुई सय ६० मध्येमा आधा जति कोरोना नेगेटिभको ‘रिपोर्ट’ नलिएरै घर पुगे ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १४ दिन आइसोलेसन सेन्टरमा बसेको व्यक्तिमा कोरोना भाइरस बृद्धि नहुने र नसर्ने भनेको आधारमा स्वास्थ्य मन्त्रालयले त्यही अनुसार निर्देशिका बनाएर पोजिटिभलाई नेगेटिभको रिपोर्ट बिना नै घर पठायो । निर्देशिका अनुसार, १४ दिन आइसोलेसन सेन्टरमा बसेका व्यक्तिलाई रिचेक नगरी घर पठाइएको छ ।
लक्षण, चिन्ह नदेखिएको आधारमा पोजिटिभ व्यक्तिलाई नै घर पठाइएको छ । यस्तो अवस्थामा त्यो घर, समाजमा पुगेको पोजिटिभले अरु व्यक्तिलाई कोरोना सार्यो कि सारेन, त्यसबारेमा कुनै चासो देखाइएको छैन । बाँकेमा पछिल्लो समयमा घर पठाइएका व्यक्तिको रिचेक गरिएको छैन । निर्देशिकाको कार्यान्वयन गर्ने क्रममा शुरुवाती चरणमा रिचेकमा पोजिटिभ आएकालाई पनि घर पठाइएको छ ।
घरमा पुगेका पोजिटिभले घरपरिवार वा समाजमा अरुलाई कोरोना सारे कि सारेनन्, एकजनाको पनि परीक्षण गरिएको छैन । जिल्ला अधिकारीहरुलाई क्वारेन्टाइनमा रहेका व्यक्तिलाई पीसीआर जाँच गर्न भ्याइ नभ्याइ रहेको बेलामा घर पठाइएका व्यक्तिका बारेमा कसले अनुसन्धान गर्ने ? महंगो जाँच, किटको अभाव यसमा जोडिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले घर पठाइएका व्यक्तिका परिवारमा जाँच नगरिएको बताउनुभयो । पोजिटिभ रिपोर्ट नै लिएर घरमा पुगेको केही व्यक्तिको छड्के परीक्षण गर्दा गाउँघरको भ्रम पनि हट्न सक्थ्यो, यसबारेमा सोचेको खोइ ?