व्यवसायिक र घरबहाल करमा छुट दिन माग

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपालगञ्ज उपमहानगरपालिकासँग व्यवसायीक र घरबहाल कर छुट दिन माग गरेको छ ।
लामो समयदेखि उद्योग, व्यवसाय ठप्प रहेको भए पनि सरकारका तर्फबाट कुनै प्रकारको सहुलियत नदिएको भन्दै यहाँका व्यवसायीले स्थानीय तहको अभिभावकत्व खोजेका छन् । नेपालगञ्जका मेयर धवलशमशेर राणासँग सोमबार भेटेर संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पश्चिमको आर्थिक केन्द्रलाई उकास्न कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष मन्सुरीले घरबहाल र व्यवसायीक घरमा छुट दिन माग गर्नुभयो ।
‘बिश्वभर महामारीको रुप लिएको कोरोना (कोभिड–१९) संक्रमण रोक्न लकडाउन लागु गरिएको झण्डै तीन महिना बितेको छ’ संघका अध्यक्ष मन्सुरीले भन्नुभयो, ‘लकडाउन कहिले खुल्छ भन्ने अनिश्चितता र सरकारका तर्फबाट कुनै प्रकारका छुट सुविधा नदिइरहेको परिप्रेक्ष्यमा पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगञ्जको निजीक्षेत्र मर्माहत भएको छ ।’
लामो समयसम्म पसल, व्यवसायमा ताला झुण्डिएको छ । यतिबेला न त व्यापार न कुनै आम्दानीको स्रोत नै रहेको छ । संघका तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भनिएको छ,‘तर राज्यलाई तिर्नुपर्ने करका लागि पटक पटक ताकेता गरिएको छ । बैंकको ब्याज, घरधनीको घरभाडाका लागि साँझ बिहानको करकर्ले उद्योगी व्यवसायीलाई झेल्नै नसकिने तनाव सिर्जना भएको छ ।’
कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजीक्षेत्रलाई सरकारले राहत दिनुको सट्टा लकडाउनकै बीच कर तिर्नु भनी गरेको ताकेताले अझ हतोत्साहीत र मर्माहत बनाएको संघको भनाई छ ।
निजीक्षेत्रले भोग्नुपरिरहेको कठिनाईलाई पूर्णरुपमा वेवास्ता गरिएको, हालसम्मको सहनशीलता र धैर्यतालाई कमजोरीका रुपमा हेरिएको महसुस भइरहँदा पश्चिमको आर्थिक केन्द्र नेपालगञ्जको उद्योग, व्यवसायीक्षेत्रलाई राहत दिन नेपालगञ्ज उपमहानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने आशा र भरोसो गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । उहाँका अनुसार, स्थानीय तहका तर्फबाट व्यवसायीक र घरबहाल करमा सतप्रतिशत छुट दिइ यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा स्थापित यहाँको निजीक्षेत्रलाई अगाडी बढ्नका लागि प्रोत्साहित गरिने कुरामा बिश्वास गरिएको छ । त्यसैले घरबहाल र व्यवसायीक करमा छुट प्रदान गरी कोरोनाको महामारीबाट मर्माहत भएको उद्योग, व्यवसायलाई मल्हम लगाउन र स्थानीय तहले चाहेमा निजीक्षेत्रलाई प्रोत्साहित गर्न सक्ने निर्णय गर्न सक्छन् भन्ने सन्देश प्रभाव हुने अपेक्षा गरिएको छ ।
व्यवसायीका समस्याका बारेमा मेयर राणा सकारात्मक देखिनु भएको छ । उहाँले समस्या समाधानका लागि छलफल गरी निर्णय गर्ने जानकारी दिएको संघले जनाएको छ । लकडाउनका कारण उपमहानगरको राजश्व संकलन पनि घटेको अवस्था रहेको बताउँदै मेयर राणाले त्यसका बाबजुद पनि समस्या समाधानको पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी लगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !