प्रहरी कार्यालयमा बोराभरी चाबी, लिन किन आउँदैनन् ?

नेपालगञ्ज – चैत्र ११ गतेदेखि लकडाउन शुरु भयो । स्थानीय प्रशासनले लकडाउनलाई कडाई गर्दै गयो । विशेष गरेर सवारी साधनलाई कडाई गरियो । अन्तिमसम्म आइपुग्दा पनि त्यो क्रम जारी रह्यो ।
भारतीय बजारमा हुने भीडलाई रोक्न चौलिकादेखि नाकासम्म सवारी साधन लैजान नपाउने निर्णयबाट शुरु भएको सवारी साधन रोक्ने अभियान मन्त्रीपरिषद्को पछिल्लो बैठकसम्म जारी थियो । लामो समयसम्म चलेको लकडाउनलाई केही खुकुलो गरिएपनि सवारी साधनको प्रतिबन्ध चलि नै रह्यो । ‘अत्यावश्यक काममा निस्किने मान्छे पैदल जान सक्छन्’ भन्ने निष्कर्ष थियो । यही निष्कर्षले गर्दा नै चर्को घाम अर्थात ११ देखि तीन बजेसम्म अत्यावश्यक बस्तुको किनबेच गरियो ।
यो बीचमा अटेरी गर्ने काम पनि भयो । त्यस्तालाई प्रहरीले कारबाही अभियान चलायो । कारबाही भनेको चाबी थुत्ने थियो । मोटरसाइकल, स्कुटी रोक्ने थियो । ठूला गाडी त चलेका थिएनन् । शुरुवातमा चाबी थुत्दा मानिसहरु सडकमै रोकिए । डो¥याएर लगे । त्यही दिन साँझ या भोलीपल्ट चाबी लिन प्रहरीकहाँ पुगेर लगे ।
जब–जब लकडाउन लम्बिदै गयो । मान्छेहरुले नयाँ उपाय पनि निकाल्न थाले । बजारमा हिड्दा दुई वटा चाबी लिएर सवारी साधनमा निस्किन थाले । प्रहरीले एउटा चाबी लैजादा अर्को चाबीले मोटरसाइकल चलाएर हिड्ने गरे । सबै त नहोला, तर धेरैजसो प्रहरी कार्यालयमा थन्किएका चाबी यस्तै हुनुपर्छ ।
लकडाउन कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेले डीएसपी कमाण्डमा टोली खटाएको थियो । त्यसको सेकेन्डम्यान प्रहरी निरीक्षक सुरज खत्री थिए । वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतसहित अरु प्रहरी निरीक्षक फिल्डमै खटिए ।
यो बीचमा प्रहरीले थुतेका तीन बोरा चाबी अहिले वडा प्रहरी कार्यालयमा थन्किएको छ । चाबी लिन आएका छैनन् । वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज बस्नेतका अनुसार, अहिले फाटफुट रुपमा मात्रै चाबी लिन आइरहेका छन् । चाबी लिन आएकालाई दिने काम भइरहेको छ ।
प्रहरीकहाँ यतिधेरै चाबी जम्मा भएको छ कि कोही व्यक्ति चाबी लिन गयो भने आफ्नो भेटाउनै मुश्किल पर्ने गरेको छ । प्रहरी निरीक्षक खत्रीले सबैले आफ्नो चाबी लिएर जान सक्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !