फेरि चेन्ज, नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर पठाइने
नेपालगञ्ज – केन्द्र सरकारले नयाँ गाइडलाइन पठाएर भन्यो, ‘१४ दिन आइसोलेसनमा बसेका कोरोना संक्रमितमा कुनै लक्षण देखिएन भने घर पठाइदिनु ।’
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाका अनुसार, नयाँ गाइडलाइनले १४ दिन बसेको व्यक्तिमा कुनै लक्षण देखिएन भने पीसीआर जाँच नै नगरी घर पठाइदिने व्यवस्था गरेको छ ।
यो गाइडलाइनलाई प्रदेश सरकारले रोकेको छ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटा नेगेटिभ रिपोर्ट नआएसम्म बिरामीलाई घर नपठाउन निर्देशन दिनु भएको छ । संक्रमित देखिएका व्यक्तिको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि मात्रै उसलाई घर पठाउन प्रदेश सरकारले निर्देशन दिएको हो । पोजिटिभलाई १४ दिन बसेकै भरमा जाँच नगरी घरमा पठाउदा समाजमा संक्रमण फैलिन सक्नेतर्फ ध्यानमा दिदै प्रदेश सरकारले यसबारेमा अहिले मौखिम निर्देशन दिएको छ र लिखित गाइडलाइन बनाउदैछ ।
केन्द्रीय सरकारको गाइडलाइन अनुसार, लायन्स डेन्टल अस्पतालमा रहेका नरैनापुरका २३ जना नै घरमा जान पाउँथे । तर, त्यहाँ बाँकी रहेका व्यक्तिमा दोस्रो जाँचमा पनि कोरोना देखिएपछि पोजिटिभलाई रोकिएको छ । ‘पोजिटिभ रिपोर्ट आउदा आउदै घरमा पठाउनु हुँदैन, यसले घर र समाजमा त्रासको वातावरण सिर्जना गर्छ, स्वास्थ्यसम्बद्ध एक अधिकारीले भने, प्रदेश सरकारले सही निर्णय गरेको छ । एउटा रिपोर्ट नेगेटिभ आएपछि उसलाई घर पठाइन्छ ।’
५ नम्बर प्रदेशले शुरु गरेको यो नयाँ रणनीतिलाई अन्य प्रदेशले पनि अंगाल्ने तयारी गरेको छ ।