जोहारका राजाले बोलाए

क्रमशः
नेपाली टिमको लिआजो अफिसर फिलिपिनी जुलियट थिइन् । उनी मलेसियामा बसेर काम गर्थिन् । जुलियटले खबर ल्याइन्, ‘नेपाली टिमसँग राजाले भेट्न चाहनु भएको छ ।’ जोहार राज्यका राजाले आफ्नो पोलो खेल्ने मैदानमा बोलाएका रहेछन् । राजाले नै भेट्ने इच्छा जनाएका छन्, हामी निकै खुसी भयौं । नेपाली किशोरीहरूको खेलको चर्चा सर्वत्र फैलिरहेको थियो । १२ जुलाईका दिन नेपालले थाइल्यान्डमाथि जित दर्ता गरेको थियो । राजाले पनि यो खबर सुनेछन् । मैदानबाट नेपाली टोली बसमा चढेर सीधैँ त्यहाँ पुग्यो । खेलाडीहरू थकित थिए तर जितले त्यो थकान बिर्सिएका थिए ।
हामी पुग्दा पोलो खेल भइरहेको थियो । छोरा÷नाति खेलिरहेका थिए, राजा भने उनीहरूको खेल हेरिरहेका । हामी पुग्नासाथ त्यहाँ कसैले बस्नका लागि सङ्केत ग¥यो । हामी एकछिन मात्रै बस्न पाएका थियौँ, राजा उठे । राजा उठेपछि सबै उठ्नुपर्ने रहेछ, हामी सबै उठ्यौँ । ती राजा कहिले अगाडि त कहिले पछाडि जान्छन् । सायद उनी खेलमै मग्न थिए । हाम्रा नानीहरू मैदानबाट सीधै त्यहाँ पुगेका थिए । उनीहरूको खासै ख्याल नगरिँदा कताकता नमजा पनि लाग्यो । भर्खरै नेपालमा राजा फालिएका थिए । देशमा गणतन्त्र आइसकेको थियो । आफ्नै देशमा राजा बिदा भएकाले पनि पराइ भूमिका राजाको रवाफ त्यति चित्तबुझ्दो लागिरहेको थिएन । तर, त्यहाँ राजाप्रति उच्च सम्मान थियो । सायद, राजा जनतामाझ लोकप्रिय छन् कि । उनी २०-२५ मिनेट आफ्नै सुरमा रहे । जब पोलो खेल सकियो, नातिहरू भेट्न आए । अनि, राजा बसे, हामीले पनि बस्ने अनुमति पायौं । वास्तवमा राजाले हाम्रो सम्मान र स्वागतका लागि बोलाएका थिए । उनले धेरै कुरा गरेनन् । हामीसँगै खाजा खाए अनि बिदाइ गरे ।
लिआजो अफिसर मिसेस जुलियट छोरालाई डेरामा छाडेर आउने गर्थिन् । उनको विवाह चिनियाँ मूलका नागरिकसँग भएको थियो । उनीसँग घुलमिल भएपछि सबै कुरा सेयर गरेकी थिइन् । श्रीमान्ले दुव्र्यवहार गर्दा रहेछन् । उनको समस्या बुझेर मैले उनको छोरालाई सँगै होटलमा राख्न प्रबन्ध मिलाइदिएँ । यसका लागि मैले लिआजोको हेड जोहार क्रिकेट एकेडेमीका चिफ डा. हरजित सिंहसँग अनुमति लिएँ । उनलाई दातो भनिन्थ्यो । विशिष्ट व्यक्तित्वलाई मलेसियामा दातो भनिदो रहेछ । दातो लेखिएको व्यक्ति मलेसियामा सम्मानितमा गनिँदो रहेछ । लिआजो चिफसँग पनि मैले निवेदन गरेँ । उनले स्वीकृति दिए । मैले यो सबै प्रबन्ध मिलाइदिएपछि जुलियट मसँग खुसी थिइन् । हाम्रा खेलाडीसँग त उनको घनिष्टता झन् बढ्यो । छोटो समयमै उनी हाम्रो टिमकी पारिवारिक सदस्य भइसकेकी थिइन् । प्रतियोगिता सकिएर छुट्ने बेला जुलियटले हाम्रा खेलाडीसँग अँगालो मारेर रुँदै भनेकी थिइन्, ‘तिमीहरूले मलाई ठूलो खुसी दियौ ।’ उनी अहिले आफ्नै देश फिलिपिन्स फर्केर खेतीपाती गरेर बसेकी छिन् ।
टेबुललाई तबला बनाएँ
१५ जुलाईमा होटल जोन रेजिडेन्सीमा अफिसियल डिनर आयोजना गरिएको थियो । राजकुमार प्रमुख अतिथि थिए । मलेसियन क्रिकेट बोर्डको आयोजना र जोहार क्रिकेट एकेडेमीको सहकार्र्यमा गरेको अफिसियल डिनरमा सबै देशले आ–आफ्नो देशको मौलिकता झल्किने प्रस्तुति दिनुपर्ने भयो । हामीले पूर्वजानकारी पाएनौँ । त्यसैले के गर्ने, के देखाउने वा सुनाउने, अन्योल भयो । कसैले गीत गाउने उपाय निकाल्यो । हाम्रा कोच जङग्े दाइले बाँसुरी बहुत राम्रो बजाउँछन् । पत्रकार पवित्रा राउतको स्वर मिठो रहेछ । म पनि काठ वा कुनै भाँडा पाएमा तबलाजस्तो बजाउन सक्छु । मैले मादल वा तबला बजाउन सिकेको व्यक्ति होइन, आफैँ जानेको ।
हामीले त्यतिबेला ‘रातो र चन्द्र सूर्य जङ्गी निशाना हाम्रो’ गीत गायौँ । मैले एउटा टेबल मगाएँ र त्यसैलाई तबला बनाएँ । जङ्गे दाइसँग कहिल्यै बाँसुरी छुट्दैन, उनले बजाए । पवित्रा राउतलगायत खेलाडीले स्वरमा स्वर थपे । हाम्रो गीत अरूले बुझे बुझेनन् थाहा भएन तर रमाइलो माने । भाषा नबुझे पनि लय र गाउने तरिका हेरेर आठ देशमध्ये सबैभन्दा राम्रो भएको भन्दै धन्यवाद पायौँ । वास्तवमा सङ्गीत पनि खेलजस्तै हो । न सीमा हुन्छ, न भाषा । तर, मन छुन्छ ।
राजालाई खुकुरी दिएँ
रात्रिभोजका प्रमुख अतिथि जोहारका राजकुमारलाई मायाको चिनो दिने कार्यतालिका तय गरिएको थियो । हामीले नेपालीको पहिचान झल्किने खुकुरी लिएर गएका थियौँ । पालो आएपछि म खुकुरी उपहार लिएर अघि बढेँ । तर, मलाई तत्कालै रोकियो । खुकुरी युद्धको सूचक हो भन्ने लाग्यो कि ? राजपरिवालाई हतियार उपहार दिनु भनेको युद्ध निम्त्याउनु हो भन्ने मान्यता छ । अर्कोतर्फ राजपरिवारका सदस्यलाई कुनै युद्ध निसानी दिँदा उताबाट सुनको सिक्का दिने प्रचलन रहेछ । राजकुमारका एडीसीले भने, ‘राजपरिवारले सोझै हतियार ग्रहण गर्दैनन् । तसर्थ, यहीँ राख्नूस् । सुरक्षित ढङ्गले हामीले नै दरबारमा पु¥याइदिन्छौँ ।’ उनले राजकुमारका तर्फबाट हामीलाई उपहार दिँदै भने, ‘अहिले गोप्य राख्नूस्, होटल पुगेपछि हेर्नुहोला ।’
मलाई कौतूहल जाग्यो । होटलमा पुग्नासाथ हेरे,ँ त्यो त सामान्य मलेसियन रिङ्गेट रहेछ । सायद उनले सुनको सिक्का आफैँ राखेर मलाई मलेसियन सिक्का दिए कि भन्ने लागिरह्यो ।
जोहार क्रिकेट एकेडेमीका म्यानेजर जसवीर सिंह थिए । उनी पन्जाबी थिए, हिन्दी राम्रो बोल्थे । हामीसँग हिन्दीमा कुराकानी गर्थे । उनैले सुनको सिक्का मिल्ने बताएका थिए । राजपरिवारको सो परम्पराका बारेमा पनि उनैले बताएका हुन् । ‘मलेसियनले दिएको भए खुकुरी राजाले लिने नै थिएनन् ।’ उनले भने, ‘विदेशी नागरिकको उपहार मात्र स्वीकार गरेका हुन् ।’
डिनरकै अर्को रोचक प्रसङ्ग छ । डिनरमा सीफुड (सामुद्रिक खाना) बाहेक केही थिएन । हाम्रा किशोरीहरूलाई शुद्ध दाल, भात, रोटी, तरकारीबाहेक अरू मन पर्दैनथ्यो । मैले उनीहरूका लागि बजारबाट पिजा, बर्गर ल्याइदिन्थेँ । यो पनि कतिपयले पहिलोपटक खाएका थिए । सीफुड देख्नेबित्तिकै मैले बुझिसकेको थिएँ कि नानीहरूले यो खाँदैनन् ।
१३ जुलाईमा अनुगमनका क्रममा मनीषाको कोठामा पुग्दा कोठा दुर्गन्धित थियो । दुर्गन्ध कताबाट आइरहेको छ भन्ने पहिल्याउन कठिन भइरहेको थियो । मलाई लाग्यो, कतै मोजा धोएनन् कि ? त्यो पनि होइन रहेछ । डस्टबिनतिर गन्हाइरहेको जस्तो लाग्यो । खोलेर हेर्दा चिजको गन्ध आएको रहेछ । बर्गरमा राखेको चिजको स्वाद मन नपरेपछि मनीषाले डस्टबिनमा फालिदिएकी रहिछन् ।
१६ जुलाई हाम्रा लागि फुर्सद थियो, कुनै म्याच थिएन । हङकङलाई जितिसकेका थियौँ । जोहारबाट नजिकैको समुन्द्री बजार थियो । त्यो घुम्ने ठाउँ पनि थियो । हामी बसेको होटलबाट दुई÷अढाई घन्टाको दूरीमा रहेकाले हामी कार रिजर्ब गरेर गयाँै । हामी अपराजित यात्रा गर्दै सेमिफाइनलमा पुगेका थियौँ । हामीलाई त्यो नै बढी खुसी थियो । त्यो सफलताको खुसी साट्न उनीहरूलाई घुमाउँदै थिएँ । समुन्द्रवरिपरि घुम्यौँ, केही सामान पनि किन्यौँ । त्यहाँ ठूलो डिपार्टमेन्ट स्टोर नै रहेछ । मैले एउटा सर्ट किनेँ । अरू कसैले टाउजर किने । टिसर्ट किने । नानीहरूको जोड कस्मेटिकका सामानमा थियो । हामीले त्यहाँ झन्डै चार घन्टा बितायौँ । भोलिपल्ट अर्थात् १७ जुलाईमा चीनसँग हाम्रो खेल थियो ।
एकातिर जितेको आनन्द, अर्कोतिर नयाँ ठाउँ घुमेको आनन्द । पाँच दिनमा उनीहरूमा मैले केही परिवर्तन देखेँ । खानपिनमा परिवर्तन भयो । १६ जुलाई हाम्रा लागि यादगार यस मानेमा पनि रह्यो कि एसिया डेभलपमेन्ट अफिसर रुमेस रत्नाकेसँग हाम्रो राम्रो बसाइ भयो । मैले एकपटक हाम्रा क्रिकेटरहरूलाई सम्झाई दिन अनुरोध गरेको थिएँ, उनी आएर सम्झाइबुझाइ गरे । नेपालको समेत डेभलपमेन्ट अफिसर भएकाले पनि उनले एकछिन हाम्रो क्लास नै लिए । आफ्नो जमानाका राम्रा खेलाडी रत्नाकेले खेलाडीहरूलाई केही टिप्स दिए । उनले नेपाली क्रिकेट टोलीले ठूलो उपलब्धि हासिल गरेको भन्दै सन्तोष व्यक्त गरे । १६ जुलाईमा मैले टिममा फिल्डिङ पोजिसनका बारेमा ब्रिफिङ गरँे । त्यहीबेला उनले मलाई ‘तपाईं किन प्रशिक्षक नबनेको ?’ भनेर सोधे ।
मैले भनेँ, ‘कोचिङ मेरो रुचिको विषय होइन, त्यसैले म गइनँ ।’ म नेपालको पूर्वकप्तान पनि भएको थाहा पाएपछि उनी खुसी भए । १७ जुलाईको म्याचमा मलाई रेफ्रीले मैदानको वरिपरि घुम्न रोक लगाए । टिम व्यवस्थापक मैदान वरपर घुम्न पाउँदैन । तर, मचाहिँ घुम्थेँ । मलेसियासँगको म्याचमा भएको विवादमा लिखित नोटिस दिएकाले उनीहरू मसँग रिसाएका थिए । त्यसैले १७ जुलाईको म्याचमा म अफिसियस बेन्चमा बस्न बाध्य भएँ ।
तेज गति, मध्यम तेज गतिका बलरलाई कस्तो फिल्डिङ गर्ने, ओभर लिमिटेसन हुन्छ । त्यसमा फिल्डिङ कसरी गर्ने, १५ यार्डभित्र खेलाडी हुदाँ र हटेपछि कसरी राख्ने, स्पिनरमा कसरी राख्ने भनेर मैले पहिले नै खेलाडीको पोजिसनको नक्सा बनाइदिन्थेँ । त्यतिबेला हाम्रा खेलाडी भर्खर–भर्खर खेल्दै गरेकाले यी कुराहरू थाहा थिएन । उनीहरूलाई फिल्ड प्लेसिङ लेखेर यसलाई यो भन्छ, यसलाई यो भन्छ भनेर खल्तीमा राखिदिन्थैं । म्याचको अघिल्लो साझँ सबैलाई राखेर फिल्ड प्लेसमेन्टबारेमा बुझाउँथे भने खेल मैदानमा छिर्दा लेखेर राखिदिन्थें । पछि यी सबै कुरा खेलाडीहरूले जानिहाले । चार÷पाचँ दिनपछि नक्सा बनाउँदा उनीहरूले बुझेको देखेपछि मलाई अब नेतृत्वको विकास भइरहेको छ जस्तो लाग्यो ।
फाइनल खेल बङ्गलादेशसँग प¥यो । वान डे मान्यता पाइसकेको बङ्गलादेशसँग हाम्रो खेलको स्तर कमजोर थियो । सन् १९९६ मा पहिलोपटक बङग्लादेशले एसीसी खेलेको हो । २००७ सम्ममा उसले धेरै फड्को मारिसकेको थियो । टेस्ट मान्यता पाउने तरखरमा थियो । उसँग फाइनलमा हामी हा¥यौँ र उपविजेतामा चित्त बुझायौं ।
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !