बजार खुकुलो पार्न व्यापारीको लबिङ !

नेपालगञ्ज – लकडाउन थपिदै गर्दा र स्थानीय प्रशासनले कडाई गरिरहदा नेपालगञ्जका व्यापारीले बजार खुकुलो पार्दै जानु पर्ने बताउन थालेका छन् ।
लकडाउनको ६९ दिनसम्म चुप बसेका व्यापारीले अब खुकुलो गर्दै जानु पर्ने छलफल गर्न थालेका हुन् । सोमबार यसै विषयमा नेपालगञ्ज उद्योग बाणिज्य संघले व्यवसायीक अगुवाहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी व्यवसायीले आवश्यक सुरक्षा उपाय अपनाएर व्यापार व्यवसाय सञ्चालनका लागि बजार खुकुलो पार्नुपर्ने सुझाव दिएका छन् ।
यस सम्बन्धमा छिटो निर्णय नलिने हो भने धेरै व्यवसायी घर न घाटको हुने अवस्था आउने उनीहरुको निष्कर्ष रहेको छ । बाँके कोरोनाको हटस्पट जिल्ला पनि हो । यहाँ एकजनाको मृत्यु र एक सय ८९ जना संक्रमित भइसकेकाले जिल्ला प्रशासन कार्यालय, बाँकेले लकडाउन कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै लगेको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उकुसमुकुस भएका व्यवसायीले अब कसरी अगाडी बढ्ने भन्दै चिन्ता व्यक्त गरिरहेको बताउनुभयो ।
बजार कसरी सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा संघले प्रमुख जिल्ला अधिकारीसंँग छलफल गर्ने महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।
विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्यसँग व्यापक छलफल गर्दा आएका सुझावहरुलाई प्रमुख जिल्ला अधिकारीलगायतका सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल गर्ने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !