६० प्रहरीको रिपोर्ट नेगेटिभ
नेपालगञ्ज – बाँकेका ६० जना प्रहरीको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोनाको जोखिममा दिनरात डिउटीमा खटिएका प्रहरीको पीसीआर जाँच गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले स्याम्पल लिएर जाँचका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
नेपालगञ्जमा शुरुमा पोजिटिभ देखिएका ६० वर्षीय पुरुषको स्वाव संकलनको समयदेखि त्यसपछि कोरोना देखिएकाहरुको टोल सील र संक्रमितहरुलाई लैजाने ल्याउने कार्यमा संलग्न प्रहरीको कोरोना परीक्षण गरिएको थियो । स्वाव संकलन गरेको लामो समयसम्म रिपोर्ट नआउदा तनावमा रहेका प्रहरीलाई नेगेटिभ रिपोर्ट आउदा राहत मिलेको छ । ब्यारेकमा बस्ने भएकाले प्रहरीको रिपोर्ट छिटो बाहिर ल्याउन आग्रह गरिएको थियो ।
बाँकेको नरैनापुरमा एकजना प्रहरीलाई कोरोना देखा परिसकेकाले फिल्डमा खटिएका अरु प्रहरीको जाँच गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जेठ ७ र ८ गते ३ सय ५२ वटा स्याम्पल संकलन गरेर पठाएकोमा ३१ वटा पोजिटिभ र अरु सबै नेगेटिभ आएको जानकारी दिनुभयो । पोजिटिभ आएकाको हकमा १० गते २७ जना र ११ गते ४ जनाको रिपोर्ट सार्वजनिक गरिसकेको थियो ।