क्वारेन्टाइनबाट टेष्टै नगरी घर फिर्ता

नेपालगञ्ज – जानकी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका व्यक्तिलाई टेष्ट नै नगरी घर पठाउने गरेको खुलेको छ । प्रेस संगठन, बाँकेले आयोजना गरेको भर्चुअल मिट दि प्रेसमा उक्त कुरा बाहिर आएको छ ।
गाउँपालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र त्यस अवधिमा ज्वरो, रुघाखोकी लागेन भने घर पठाउने गरेको हो । अहिलेसम्म यो पालिकाबाट क्वारेन्टाइनमा बसेका ७२ जना टेष्ट नै नगरी घर गएको छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि खत्रीका अनुसार, अहिले पालिकाका आठ वटा क्वारेन्टाइनमा एक सय ९६ जना बसिरहेका छन् । उनीहरुको १४ दिन पुगिसकेको छैन । क्वारेन्टाइनमा बसाउने र टेष्ट नै नगरी घर पठाउने कार्यले कोरोनाको जोखिम बढाएको छ ।
प्रशासकीय अधिकृत खत्रीले अहिले बसिरहेका व्यक्तिको पीसीआर टेष्ट गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयदेखि प्रदेश सरकारसमक्ष अनुरोध गरिरहेको जानकारी दिनुभयो ।टेष्ट नै नगरेकाले अहिलेसम्म जानकीमा कोरोनाका बिरामी देखा परेका छैनन् । भारतसँग सीमा जोडिएको यो पालिका जोखिममा सूचीमा भने पर्छ ।


error: यो सुविधा उपलब्ध छैन !