कोरोना जितेर फर्किए २१ जना
नेपालगञ्ज – शुरुमा ६० वर्षीय पुरुषलाई कोरोना देखिदा नेपालगञ्ज त्रसित बन्यो । त्यो बैशाख १९ गतेको कुरा थियो । ६० वर्षीयको ‘ट्रेसिङ’मा अरु २२ जना कोरोना संक्रमित भेटिए । ती सबै एउटै टोलका थिए, नेपालगञ्ज–८, जोलाहनपुरुवाका । एकजना दोस्रो व्यक्तिको ‘ट्रेसिङ’मा थपिए । अर्को एकजना गरेर नेपालगञ्जमा २५ जना संक्रमित भए ।
सबैलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखेर उपचार गरियो । शुरुमा उनीहरुलाई बडो मुश्किलले फकाएर लैजानु परेको थियो किनकी उनीहरुमा कुनै लक्षण नदेखिदा जान मानेका थिएनन् ।
त्यो दिनको त्रास, बेखुशी आज आएर खुशीमा परिणत भएको छ । नेपालगञ्जका २१ जनाले कोरोनालाई घर फर्किएका छन् । क्यान्सर अस्पतालमा ठूलो संख्याका सञ्चारकर्मी, सम्बद्ध स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुको उपस्थितिलाई बिदाई गर्दै उनीहरु घर फर्किएका छन् । दुई वटा एम्बुलेन्सले उनीहरुलाई स–सम्मान नेपालगञ्ज ल्याएको छ ।
६० वर्षीय पुरुषमा चार पटक कोरोना टेष्ट गरिएको थियो । शुरुको दुई चरण उनमा पोजिटिभ देखियो । त्यसपछिका दुई टेष्टमा नेगेटिभ रिजल्ट आयो । अरु २० जनाको हकमा तीन पटक टेष्ट गरियो । शुरुमा पोजिटिभ आएपनि दोस्रो र तेस्रो नेगेटिभ आयो । पछिल्लो दुई पटकको लगातार नेगेटिभ आएपछि बिरामीको ठिक भएको मानिन्छ ।
कोरोनालाई जितेकाहरु हातमा फूलको गुच्छाको स्वागत ग्रहण गरेर मुस्कुराउदै घर जान निस्केका छन् ।