क्वारेन्टाइनमा चौध सय

नेपालगञ्ज – बाँकेमा क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको छ ।
नाकामा रोकिएका नेपालीलाई भित्र्याएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो । जिल्लामा क्वारेन्टाइनको संख्या पनि बढाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले क्वारेन्टाइनमा एकै दिन तीन सय बढी मानिस थपिएको बताउनुभयो । ‘हिजोको आज जिल्लामा पाँच वटा क्वारेन्टाइन थपिएर ४९ वटा पुगेको छ, फोकलपर्सन श्रेष्ठले भन्नुभयो, एक हजार एक सय ५४ जना बसेका थिए भने एकै दिन बढेर एक हजार चार सय ५६ जना पुगेका छन् ।’
बाँकेका विभिन्न क्वारेन्टाइनबाट एक हजार तीन सय ५२ जना घर फर्किएका छन् । क्वारेन्टाइन र त्यहाँ बस्ने बढ्दै गर्दा संक्रमितको संख्या पनि बढिरहेको छ । अझ भारतबाट आउने क्रम रोकिएको छैन । बुधबार राती र बिहीबार विहानसम्म गरी दुई हजार सात ३८ जना नेपालीलाई भित्र्याए पनि फेरि नाकामा नेपाली जम्मा भइसकेका छन् । प्रशासनले प्रवेश रोकिसकेपछि सय जना आसपासमा नेपाली नाकामा आइपुगेका छन् ।
जिल्लाका सबै पालिकामा क्वारेन्टाइन थलिएको छ । भारतबाट आएका नेपालीलाई आआफ्नै पालिकामा पठाएर क्वारेन्टाइनमा राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !