नरैनापुरका सबैको बास ‘डेन्टल अस्पताल’मा

नेपालगञ्ज – नरैनापुरका कोरोनाका बिरामीलाई नेपालगञ्ज ल्याइएको छ ।
नेपाली सेना र आइएनएफको एम्बुलेन्सले नरैनापुरका ५९ जना कोरोनाका बिरामीलाई नेपालगञ्ज ल्याएको हो । उनीहरुलाई नेपालगञ्जमा ल्याएर लायन्स डेन्टल अस्पतालमा राखिएको छ । पहिलो लटमा दुई वटा एम्बुलेन्सले २८ जनालाई ल्यायो । त्यसपछि अरुलाई ल्याइएको छ ।
नरैनापुरका बिरामी २५ जनालाई लायन्स डेन्टल अस्पताल र ३४ जनालाई कोहलपुरको पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय भएको छ । यद्यपि, कोहलपुरमा बिरामीलाई ल्याउन नदिने भन्दै स्थानीयले विरोध गरेका छन् ।
मध्यराती भएकाले सबैलाई डेन्टल अस्पतालमा राखिएको छ । बुधबार उनीहरुलाई निर्णय अनुसार बसोबासको व्यवस्थापन गर्ने तयारी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले सबैलाई डेन्टल अस्पतालमा राखिएको जानकारी दिनुभयो । आइतबार अपरान्ह सवा चार र राती सवा दश बजे गरी दुई लटमा कोरोना पुष्टि गरिएका उनीहरु नरैनापुरको क्वारेन्टाइनमा बसेका थिए । कहाँ राख्ने अन्यौलताले गर्दा बिरामीहरु बिरामी नभएकाहरुसँगै क्वारेन्टाइनमा थिए । मंगलबार नेपालगञ्ज र कोहलपुरमा राख्ने निर्णय भएपछि मध्यरात परेपनि नेपालगञ्ज ल्याइएको हो ।


error: यो सुविधा उपलब्ध छैन !