निजी अस्पतालको ‘बेड’ सहयोग

 

नेपालगञ्ज – नेपालगञ्जका निजी अस्पतालले बेड सहयोग गर्ने भएका छन् ।
स्थानीय प्रशासनको संयोजनमा भएको छलफलमा यहाँका निजी अस्पताल सञ्चालकले बेड दिने बताएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले नेपालगञ्जका सबैजसो निजी अस्पतालले निशुल्क बेड सहयोग गर्ने बताएको जानकारी दिनुभयो । ‘वेस्टर्न अस्पतालले २५ बेड दिइसक्यो । त्यो अहिले नरैनापुरमा लैजानका लागि लोड भइरहेका छन्, सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भन्नुभयो, माँ बैष्णवी, सिद्धार्थ अस्पतालले पनि बेड दिन्छु भनेका छन् ।’ निजी अस्पतालहरुले आफ्नो बेड संख्याको ५० प्रतिशत दिने बताएको प्याकुरेलले बताउनुभयो ।
निजी अस्पतालहरुमा अरु पनि बिरामी आउने भएकाले त्यहाँ आइसोलेसन कक्ष बनाउन मिल्दैन । तर, उनीहरुले कोरोना कहरमा सहयोग गर्न बेड दिन थालेका हुन् ।
सीमावर्ती जिल्ला भएकाले ठूलो संख्याका नेपाली यही नाका भएर फर्किने आकलन गरिएको छ । फर्किनेमा अन्यत्रका जिल्लाको मात्रै होइन, बाँकेकै ठूलो संख्या रहने अधिकारीहरुले छलफल गरिरहेका छन् । अहिले क्वारेन्टाइनमा रहेका एक हजारको पीसीआर जाँच गर्न बाँकी रहेको छ । जाँच गर्दा पोजिटिभ देखिने बित्तिकै आइसोलेसनमा राख्नु पर्छ । यस्तोमा छिटो भन्दा छिटो आइसोलेसन कक्ष बनाउन जरुरी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !