नरैनापुरमा फेरि थपिए १२ जना
नेपालगञ्ज – बाँकेको नरैनापुरमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।
अपरान्ह सवा चार बजे ४७ जना सार्वजनिक गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राती सवा दश बजे थप १२ जनालाई कोरोना पुष्टि गरेको हो । योसहित नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या ६८ जना पुगेको छ । बाँकेमा कोरोना संक्रमित ९३ जना पुगेका छन् । त्यसमध्येमा एकजनाको मृत्यु भइसकेको छ ।
शनिबार स्वाव लिइएका २ सय ६३ जना सबैको रिपोर्ट आएको हो । त्यसमा ६० जना संक्रमित भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले शनिबार लिएको २ सय ६३ वटा स्याम्पलमध्येमा ६० जना संक्रमित भेटिएको बताउनुभयो । उहाँका अनुसार, नरैनापुरमा अब आइतबार संकलन गरिएको ११ र सोमबार संकलन गरिएको ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेका ५९ जना क्वारेन्टाइनमै बसेका छन् । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन कक्ष बनाएर त्यहाँ राख्ने भनिएपनि आवश्यक व्यवस्थापन गर्न नसक्दा संक्रमितलाई क्वारेन्टाइनमै राखिएको छ ।