संक्रमितलाई कहाँ राख्ने होला ?
नेपालगञ्ज – एकै दिन ४७ जना कोरोना संक्रमित देखिएपछि उनीहरुलाई कहाँ राख्ने चुनौती थपिएको छ ।
खजुराको आइसोलेसन अस्पतालमा यसअघिकै २६ जनालाई राखिएको छ । त्यहाँ ४० जनासम्म राख्न सकिन्छ ।
प्रदेश सरकारले आर्मी र प्रहरीको अस्पताललाई आइसोलेसन कक्ष बनाउने बनेपनि त्यहाँ आवश्यक तयारी भइसकेको छैन । लायन्स डेन्टल अस्पतालमा व्यवस्थित क्वारेन्टाइन बनाइएपनि त्यहाँ सबै अट्दैनन् ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले कोरोना संक्रमितलाई कहाँ राख्ने चुनौती थपिएको बताउनुभयो । ‘उनीहरुलाई कहाँ राख्ने हामी ठाउँ खोज्दैछौं, धेरै थपिएकाले राख्ने चुनौती भएको छ, मेसु डा. थापाले भन्नुभयो, केहीलाई नरैनापुरकै लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा राख्ने कि भन्ने छलफल भएको छ ।’
बाँकेमा बिरामीको संख्या बढ्दै गइरहेपछि राख्ने ठाउँको समस्या टड्कारो बन्दै गएको हो । नरैनापुरकै अझै ८१ बढीको रिपोर्ट आउन बाँकी रहेको छ । अन्य पालिकामै भारतबाट आएका ठूलो संख्याका मानिस बसिरहेका छन् । जिल्लामा छिटो भन्दा छिटो आइसोलेसन कक्ष बनाउन जरुरी देखिएको छ । भेरी अस्पतालका मेसु डा. थापाले आइसोलेसन कक्ष थप्न लागि परेको जानकारी दिनुभयो ।