नरैनापुर बन्यो ‘हटस्पट’, थपिए ४७ जना

नेपालगञ्ज – बाँकेमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएकासहित जिल्लामा संक्रमितको संख्या ८१ पुगेको छ । जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा एकजनाको मृत्यु भइसकेको छ ।
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ । कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन् । त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ । आज ४७ थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५६ पुगेको हो ।
आज थपिएका संक्रमितको दुई दिनअघि शनिबार स्वाव लिइएको थियो । नरैनापुरको वडा नं. २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोजभगवानपुरबाट ३९ (एकजना मृत्यु), वडा नं. ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाव लिइएको थियो । यीबाहेक ११ जनाको आइतबार स्वाव लिइएको छ । आठ जना संक्रमितमध्येमा दुई जना घर र ससुराली गएको पाइएपछि आफन्तीको स्वाव लिइएको थियो ।
पछिल्लो दिनमा भारतबाट यो पालिकामा धेरै जना भित्रिएका छन् । भारतको महाराष्ट्रमा पुगेका धेरै जना नेपालीहरु धमाधम घर फर्किएपछि नरैनापुरमा कोरोनाको हटस्पट बनेको हो । यो पालिकामा अझै मान्छे आउने क्रम रोकिएको छैन ।


error: यो सुविधा उपलब्ध छैन !