मृतक युवामा कोरोना देखियो
नेपालगञ्ज – नरैनापुरको क्वारेन्टाइनमा विहान मृत्यु भएका युवामा कोरोना देखिएको छ ।
बैशाख ३० गते भारतबाट आएका २५ वर्षका युवा नरैनापुरको दिपेन्द्र मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए । विहान ६ बजेर ४० मिनेट जादा उनको मृत्यु भएको थियो । राती तीन बजे एक्कासी वान्ता हुनुका साथै ज्वरो बढेपछि उनको मृत्यु भएको थियो ।
मृतकको शव अहिले पनि स्कूलमै रहेको छ । शवको नजिक कोही गएका छैनन् । आफन्तीहरु टाढाबाट शवलाई हेरेर बसेका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले शनिबार नरैनापुरबाट २ सय ६३ जनाको स्वाव लिंदा ती युवाको पनि लिइएको थियो । अरु स्याम्पलको जाँच भइरहेको छ । मृतकको छिटो गरिएको थियो ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले मृतकमा कोरोना देखिएको बताए । ‘नरैनापुरबाट २ सय ६३ स्वाव आएका थिए । अरुको परीक्षण हुँदैछ । मृतकको चाडै रिपोर्ट सार्वजनिक गर्नु पर्ने भएकोले परीक्षण ग¥यौ, मेसु डा. थापाले भने, मृतकमा कोरोना पोजिटिभ देखिएको छ ।’
नरैनापुरमा यसअघि आठ जनामा कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाव लिदा मृतक युवा पनि परेका थिए । जिल्लाको पूर्वी गाउँपालिकामा पर्ने नरैनापुरमा अझै भारतबाट आउने क्रम रोकिएको छैन । त्यहाँ ११ वटा क्वारेन्टाइन बनाएर ६ सय २५ जनालाई राखिएको छ ।