एडीबीले छोड्दै ल्याण्डफिल साइट

नेपालगञ्ज – एशियाली विकास बैंक (एडीबी) ले बनाइदिएर सञ्चालन भइरहेको नेपालगञ्जको ल्याण्डफिल साइट अब नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने भएको छ ।
एडीबीले ल्याण्डफिल साइट नेपालगञ्ज उपहानगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । ३९ करोड हाराहारीमा खर्च गरेर बनाइएको ल्याण्डफिल साइटमा एडीबीले अहिले पनि मासिक १५ लाख बढी खर्च गरिरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले ल्याण्डफिल साइट आफूले सञ्चालन गर्नका लागि कार्यविधि बनाउने तयारी थालेको छ । उपमहानगरपालिकाको आइतबार बसेको बैठकले ल्याण्डफिल सञ्चालनका लागि कार्यविधि बनाउने निर्णय गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले ल्याण्डफिल साइट एडीबीले हस्तान्तरण गर्न थालेकाले अब नेपालगञ्ज उपमहानगरपालिकाले कार्यविधि बनाएर सञ्चालन गर्ने जानकारी दिनुभयो ।
ल्याण्डफिल साइट सञ्चालनमा अहिले पनि ठूलो खर्च छ । नेपालगञ्ज उपमहानगरपालिकाले भने कर्मचारी कटौती गरेर खर्च घटाउने रणनीति बनाएको छ । ‘अहिले ५० जना कर्मचारी रहेछन् । ३० जनामा झारेर काम गर्न सकिन्छ कि भनेर छलफल गरेका छौं, प्रवक्ता रिजालले भन्नुभयो, एडीबीले राखेकै कर्मचारीबाट काम चलाउने हो ।’
नेपालगञ्जमा आधुनिक ल्याण्डफिल साइट बनेपछि यहाँको फोहोर व्यवस्थापनमा सहज भएको छ । ल्याण्डफिल साइनमा कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गर्ने गरिन्छ । नेपालगञ्जमा आज फाले भोली फोहोर कहाँ फाल्ने भन्ने समस्या समाधान गरेको ल्याण्डफिल साइट सञ्चालन गर्न भने उपमहानगरपालिकाले स्रोत जुटाउनै पर्ने देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !