चिनीको ट्रकमा कोरेक्स
नेपालगञ्ज – देशवासी कोरोनाको त्रासमा छन् । नेपालमात्रै होइन, भारत पनि लकडाउनमा छ । यस्तोमा लागु औषधीका ‘अम्मली’को आफ्नैखाले छट्पटी देखिन्छ ।
भारतबाट कहिले ‘होमगार्ड’ कोरेक्स बोकेर आइरहेका छन् त कहिले ट्रकका चालक, सहचालकहरु पैसा कमाउने धन्दामा लागेका छन् । आइतबार नेपालगञ्ज नाकाबाट चिनी बोकेर आएको ट्रकमा कोरेक्स, सुपरपावर र बिडी बरामद भएको छ । नेपालगञ्ज प्रवेश गरेको युपी ७८ बीटी २२९५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ९४ बोतल कोरेक्स, १५ पोका सुपरपावर र १२ पोका बिडी बरामद भएको हो ।
प्रहरीले ट्रक जाँच गर्ने बित्तिकै चालक फरार भएका छन् । सहचालक भारत नानपाराका मनु खान पक्राउ परेका छन् । ट्रकको लाइन थियो । प्रहरीले एक एक गरेर जाँच गरिरहदा सबै ट्रकका चालक बाहिर निस्केका थिए । त्यही क्रममा त्यो ट्रकका चालक पनि भागे । ट्रकभित्र रहेका सहचालक भाग्ने मौका पाएनन् । प्रहरीले उनलाई पक्राउ गरेको छ ।
सरकारले लकडाउनका बीचमा पनि भारतबाट अत्यावश्यक खाद्य सामाग्री बोकेका ट्रकलाई आउन दिएको छ । यसरी आउने ट्रकमा अवैध धन्दा हुने गरेको फाटफुट देखिरहेको छ ।