ल्याइयो नेपाली, पठाइयो भारतीय

नेपालगञ्ज – भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याइएको छ । नेपालीलाई ल्याउदा बाँकेका क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाइएको छ ।
स्थानीय प्रशासनले बिहीबार अपरान्ह भारतबाट पाँच सय बढी नेपालीलाई ल्याएका हुन् । ती नेपालीहरु सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतका क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याइएको जानकारी दिनुभयो ।
भारतका बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको छ । जमुनाहा ल्याएपछि उनीहरुको नाम, ठेगाना सोध्नुका साथै आरडीटी टेष्ट गरेर सम्बन्धित जिल्लामा पठाउने तयारी भएको छ । ‘बाँकेकालाई सम्बन्धित गाउँपालिकामा पठाएर क्वारेन्टाइनमा राखिन्छ । अन्यत्र जिल्लाकालाई आरडीटी टेष्ट गरेर सम्बन्धित जिल्लामा पठाएर क्वारेन्टाइनमा राख्ने कुरा भएको छ, जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भन्नुभयो, कति भित्रिए भन्ने यकिन तथ्यांक जमुनाहाबाट पठाइसकेपछि थाहा हुन्छ ।’
भारतबाट लुकिछिपी नेपालीहरु भित्रिरहेपछि स्थानीय प्रशासनले उनीहरुलाई मूल बाटोबाट ल्याउन थालेको हो । मूलबाटोबाट ल्याउने र सम्बन्धित जिल्लाको पालिकामा क्वारेन्टाइनमा राख्दा जोखिम कम हुने आकलन गरिएको छ ।
नेपालगञ्ज पश्चिमको चलनचल्तीको नाका भएर यहाँबाट ठूलो संख्यामा नेपालीहरु घर फर्किने अधिकारीहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !