बीरगञ्जमा १७ जना कोरोना संक्रमित थपिए
बीरगञ्ज – पर्सामा १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु एउटै वडाका आफन्त भएको पाइएको छ ।
संक्रमितहरु वीरगञ्ज महानगरपालिका–३, छपकैयाका भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ । उनीहरु सबै मुस्लिम समुदायका हुन् भने उनीहरुकै परिवारका एकजना १४ दिनअघि संक्रमित भई नारायणी अस्पताल भर्ना भएका छन् ।
यसअघि पनि सोही टोलका दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । बुधबार फेला परेका सबैजना उनीहरुकै परिवारका हुन् ।
संक्रमितहरुको स्वाब संकलन तीन दिन पहिले भएको थियो । उनीहरुको नमुना परीक्षणको लागि काठमाडौं पठाइएको थियो ।
सबैजना अहिले घरमै छन् । नारायणी अस्पतालबाट पाइएको जानकारी अनुसार उनीहरुलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ ।
नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ ।
बुधबार संक्रमण पत्ता लागेकामध्ये ७ जना महिला र १० जना पुरुष छन् । उनीहरु २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन् ।
(देशसञ्चारबाट)