भारतीयलाई कहिले पठाउने ?
नेपालगञ्ज – बाँकेका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई सबै प्रक्रिया पूरा गरेर घर पठाइरहदा भारतीयलाई घर पठाउन समस्या भएको छ ।
धादिङ र चितवनबाट हिडेर बाँके आइपुगेका भारतीयलाई हवल्दारपुरको राम मावि र नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ । उनीहरुमध्ये हवल्दारपुरमा रहेकाको ‘आरडीटी’ जाँच भइसकेको छ ।
सबै प्रक्रिया पूरा गरेपनि दुई देशको कुरा भएकाले अहिले नै उनीहरुलाई घरमा पठाइहाल्ने अवस्था छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतीयलाई घर पठाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताउनुभयो । ‘हामीले यताबाट पठाएपछि हाम्रा नेपाली पनि उताबाट आउँछन्, यो दुई देशको कुरा हो, केन्द्रबाट त्यस्तो कुनै निर्देशन आएको छैन, प्रजिअ खड्काले भन्नुभयो, बाँकेमा एक सय ५४ जना भारतीय छन् भने नानपारामा ६५ जना नेपाली छन् ।’
प्रजिअ खड्काका अनुसार, बाँकेका विभिन्न क्वारेन्टाइनमा २ सय ४५ मानिस छन् । त्यसमध्येमा १ सय ५४ भारतीय नै छन् । क्वारेन्टाइनमा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि कोरोना जाँच गरेर नेगेटिभ आएपछि घर पठाउने गरिएको छ । यी सबै प्रक्रिया पूरा गरेपनि भारतीयलाई भने घरमा पठाउन समस्या भएको हो । हवल्दारपुरमा रहेका ६७ जना चैत्र २६ गते बाँके आइपुगेका थिए । महेन्द्र बहुमुखी क्याम्पसमा ५२ जना छन् । अन्यत्र फाटफुट छन् ।