सामाजिक कार्यमा ‘जुमा’

नेपालगञ्ज – जुमा स्पोर्टस क्लवको स्थापना त खेलकुदको विकासका लागि भएको हो । खासगरी व्यापारीलाई खेलकुदप्रति आकर्षित गर्न जुमाको गठन भएको थियो । केही ठूला ‘प्रतियोगिता’ गराएर जुमाले त्यो प्रमाणित गरिसकेको पनि छ ।
जुमा खाली खेलकुदमा मात्रै सीमित छैन । सामाजिक कार्यमा जुमाले उदाहरणीय काम गर्दै आएको छ । आठौं राष्ट्रिय खेलकुदमा आकर्षक प्रवेशद्वार बनाउने मात्रै होइन, क्यान्सर पीडित पत्रकार रेशम विरहीलाई २१ हजार सहयोग गरेर जुमाले सामाजिक कार्यमा कदम बढाइरहेको छ ।
यो त विगत भयो । कोरोनाले देश लकडाउनमा चलिरहदा भोकभोकै बस्नु पर्ने विपन्न वर्गलाई बिर्सिन कहाँ सक्थ्यो र जुमाले । यस्ता विपतलाई मध्यनजर गर्दै जुमाले विपतकालिन राहत कोष नै बनाएर समाजिक कार्यमा अझ उदाहरणीय काम गर्ने अठोट गरेको छ । कोषमार्फत बिहीबार विपन्नलाई सहयोग गरिएको छ ।


नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा स्थानीय तहसँग समन्वय गरेर एक सय ५० जनालाई एक लाख ८३ हजार ८ सय १० रुपैया बराबरको खाद्यान्न सहयोग गरिएको हो । जुमाका अध्यक्ष भीम रानाभाटका अनुसार, दैनिक ज्यालादारी गर्ने, भाडामा बस्ने र विपन्नलाई स्थानीय तहले उपलब्ध तथ्यांकका आधारमा राहत वितरण गरिएको छ ।
जुमाले प्रतिव्यक्ति १५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, एक लिटर तेल र एक किलो सोयाविन दिएको हो । यो नेपालगञ्ज उपमहानगरपालिकाले बनाएको खाद्यान्नको प्याकेट भएको बुझिएको छ ।
राहत वितरण गर्दा वडा नं. ४ का अध्यक्ष मो. सफिक बेहना, कार्यपालिका सदस्य इन्दिरा शाही, जुमाका अध्यक्ष भीम रानाभाट, सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षद्वय दीर्घराज आचार्य र शिवप्रसाद दाहाल, कोषाध्यक्ष सन्तोष पौडेल, प्रवक्ता एवं कोषका संयोजक सूर्यमणि अधिकारी, सदस्यहरु टोपेन्द्र थापा, माधव अर्याल, अमृत श्रेष्ठ, नेत्रबहादुर बन्जारा, विष्णु रिमाल, अपूर्व सिंहको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !