नेपालगञ्जमा पनि देखियो कोरोना

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना भाइरसका बिरामी देखा परेका छन् । ५ नम्बर प्रदेशमा दुई जना कोरोना संक्रमित देखिदा नेपालगञ्जका ६० वर्षका व्यक्ति पनि परेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालगञ्जका ६० वर्ष र रुपन्देहीका २५ वर्ष युवामा संक्रमण देखिएको पुष्टि गर्नुभयो ।
नेपालगञ्जको एक मस्जिदबाट लिइएको स्वावमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य अधिकारीहरुले बताए । १७ गते एकलैनीस्थित मस्जिदमा स्वाव लिइएको ११ जनामध्येका एकजना ६० वर्षीयमा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा कोरोना जाँच शुरु भएपछि तीनदिन यता मन्दिर र मस्जिदमा स्वाव लिन थालिएको थियो । यसो गर्दा कोरोना जाँचको संख्या बढेको थियो । बैशाख ७ गते भेरीमा ल्याब राखेपछि अहिलेसम्म एक सय ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ५१ जनाको रिपोर्ट आउन बाँकी थियो । त्यहीमध्येमा एकजनामा कोरोना देखिएको छ ।
१६ गते फूल्टेक्रास्थित मस्जिदमा दशजनासहित २९ जना, त्यसपछि २० जना र १७ गते मस्जिदका ११ जना, १८ गते बोगश्वरी मन्दिरलगायत गरी ४० जनाको स्याम्पल लिइएको थियो । स्वाव जाँचको गति बढाउदा नेपालगञ्जमा कोरोना देखिएको छ ।
मस्जिदमै बस्ने ती व्यक्तिलाई उपचारका लागि खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा लगिएको छ । उनको बारेमा विस्तृत विवरण लिने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालगञ्जमा कोरोना संक्रमित देखा परेपछि लकडाउनलाई अझ प्रभावकारी बनाइएको छ । शुक्रबारदेखि नै विहान दश बजेदेखि खाद्यान्न पसलसमेत बन्द गरिएको छ । अब कसरी अगाडि बढ्ने भन्ने बारेमा सुरक्षा समितिको बैठक बसेको छ ।
रुपन्देहीका २५ वर्षका युवाका बारेमा नेपालगञ्जमा केही जानकारी नभएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !