१२ दिनदेखि पैदल, बाटोमै जन्मियो बच्चा
नेपालगञ्ज – बाँकेको हवल्दापुरमा ६७ जना भारतीय नागरिक आइपुगेका छन् । चितवनबाट १२ दिन हिडेर उनीहरु बाँके आइपुगेका हुन् ।
भारतको नानपाराका यी भारतीयहरु मजदुरीका लागि चितवन पुगेका थिए । सडकमै पाल टाँगेर बस्ने पत्थरकट्टा जातीका मानिस लकडाउनले गर्दा समस्यामा परेपछि हिडेरै आएका हुन् । हिडेर आउदा बाटोमै बच्चा जन्मिएको छ ।
बाँकेको कुसुमसम्म हिडेर आएका उनीहरुलाई प्रहरीले गाडीमा बसाएर हवल्दारपुरमा ल्याएको छ । उनीहरु राम माविमा राखिएको छ । बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहले त्यही टेन्ट टाँगेर व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, १८ वर्षमुनिका ३७ जना, १५ पुरुष र १५ महिला रहेका छन् । लकडाउनले गर्दा नाका बन्द भएका कारण उनीहरुलाई हवल्दारपुरमै बस्ने व्यवस्था मिलाइएको बाँके प्रहरीले जनाएको छ ।
समस्या पर्दा सबैले आफ्नै घर सम्झिन्छन् । यी भारतीय मजदुरहरु पनि लकडाउनले गर्दा समस्यामा परेपछि आफ्नै घरमा जान पैदल आएका थिए । नेपालमा भारतीय भेटिएमा यतै व्यवस्थापन गर्ने र भारतमा रहेका नेपालीलाई भारतले व्यवस्थापन गर्ने सीमावर्ती अधिकारीहरुले सहमति गरेका छन् ।