भाडामा बस्नेलाई राहतको तयारी

नेपालगञ्ज – नेपालगञ्जमा वडा कार्यालयहरुले ‘स्थायी बासिन्दा’मध्येका विपन्नलाई राहत वितरण गरिरहेको छ । विपन्नलाई राहत बाँड्न वडा कार्यालयहरुलाई ठूलो सकस परिरहेको छ । कतै वडाध्यक्ष भर्सेस वडा सदस्य भएका छन् त कतै आफ्ना कार्यकर्ता पोस्न थालेको भन्दै विरोध भएका छन् ।
स्थायी विपन्नलाई वडाले राहत बाँड्ने लगत लिंदा नै अस्थायी बासिन्दा अर्थात भाडामा बस्नेको पनि तथ्यांक निकालिएको थियो । भाडामा बस्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले राहत दिने भनिएको थियो । बीचमा केही समस्या आयो ।
आखिर जे समस्या आएपनि नेपालगञ्जमा भाडामा बस्नेलाई हेर्ने कसले हो ? पक्कै पनि स्थानीय सरकारले । यो कुरा नेपालगञ्ज उपमहानगरपालिकाले मनन् गर्दै गएको छ । नेपालगञ्जमा भाडामा बस्नेको वास्तविक लगत लिने र कतै न कतैबाट स्रोत जुटाएर राहत वितरण गर्ने निष्कर्षमा नेपालगञ्ज उपमहानगरपालिका पुगेको छ । सम्भवतः आइतबार यसकै लागि बैठक बस्दैछ । यो बीचमा प्रदेश सरकारसँग स्रोतका लागि अनुरोध गर्ने, कथमकदाचित भएन भने आफ्नै स्रोत जुटाएर भएपनि भाडामा बस्नेलाई राहत दिने तयारी भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले वडावडाबाट भाडामा बस्नेको लगत लिने र राहत दिने विषयमा कुराकानी भइरहेको बताउनुभयो । ‘विकास बजेट तान्न सकिने अवस्था छैन, प्रवक्ता रिजालले भन्नुभयो, प्रदेशसँग कुराकानी हुँदैछ । मानवीय हिसावले पनि भाडामा बस्नेलाई सम्बोधन हुन्छ ।’
नेपालगञ्जमा कति होलान् भाडामा बस्ने ? चारदेखि पाँच हजार रहेको अनुमान गरिएको छ । कोठा भाडामा लिएर काम गरेर जीवन गुजारा चलाएका व्यक्तिलाई प्राथमिकतामा राखेर राहत दिने तयारी भएको छ । मानवीयताको हिसावले पनि भाडामा बस्नेलाई हेर्न थालिएको छ ।
भाडामा बस्नेलाई राहत दिने, घरमा जान दिने या आफ्नो सुरक्षा व्यवस्था मिलाइदिन वडाध्यक्षहरुले मेयर, उपमेयरलाई भनिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !