अनावश्यक हिड्ने ४८ जना परे फन्दामा

 तस्बिर : साभार

नेपालगञ्ज – बाँके प्रहरीले ‘अनावश्यक हिड्ने’ लाई समात्न शुरु गरेको छ ।
अत्यावश्यक कामबाहेक भीडभाड गरेर हिड्नेलाई प्रहरीले समातेर दिनभरी नियन्त्रणमा राखेर साँझ छोड्ने नीति लिएको हो । आज मंगलबार पहिलो दिन ४८ जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । ४८ जनामा दुई महिला थिए ।
बाँके प्रहरीले मंगलबारदेखि फलामजडित लौरीको माध्यमबाट अनावश्यक हिड्नेलाई पक्राउ गर्न शुरु गरेको हो । प्रहरीले सिधैं हातले समात्दा कोरोनाको जोखिम हुने भएकाले टाढैबाट फलामजडित लौरोले समातेर गाडीमा राख्ने गरिएको छ ।
प्रहरीले विभिन्न पाँच ठाउँमा यस्तो अप्रेशन चलाएको थियो । दुरी कायम गरेर अत्यावश्यक काममा जानेलाई प्रहरीले छोड्ने गरेको जनाएको छ । अनावश्यक र भीडभाड गरेर हिड्नेलाई हिड्नेलाई नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताउनुभयो । नियन्त्रणमा लिइएका सबैलाई गणेशमानचोकस्थित परामर्श केन्द्रमा राखिएको थियो । अहिले केहीबेरमा आफन्तीलाई बोलाएर छोड्ने तरखर भइरहेको छ ।
प्रहरीले अनावश्यक हिड्नेलाई समातेर परामर्श केन्द्र वा अन्यत्र राख्ने कि सडकमै दुरी कायम गरेर दिनभरी उभ्याउने भन्ने बारेमा छलफल गरिरहेको छ ।
लकडाउनलाई पूर्णरुपमा पालना गराउन बाँके प्रहरीले सवारी साधनलाई कडाई गरिरहेकोमा मंगलबारदेखि पैदलयात्रीलाई समेत नियन्त्रणमा लिन थालेको हो ।


error: यो सुविधा उपलब्ध छैन !