टोकन लिएर राहत
नेपालगञ्ज – नेपालगञ्जको वडा नं. १ ले राहत बाँड्दा उत्कृष्ट उपाय अवलम्बन गरेको छ । उसले टोकनका आधारमा एक–एक जनालाई बोलाएर राहत वितरण गरेको हो । राहत बाँड्दा भीडभाड भयो भनेर कतिपय वडामा प्रहरीले हस्तक्षेप गरिरहदा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले उत्कृष्ट उपाय अवलम्बन गर्नु भएको हो ।
वडामा १३ वटा टोल विकास समिति छन् । सबैलाई फरक–फरक समयमा राहत लिन बोलाइएको थियो । वडाध्यक्ष रिजालका अनुसार, टोल विकास समितिमार्फत राहत पाउनेहरुलाई एक दिनअघि नै टोकन उपलब्ध गराइएको थियो । जसले गर्दा आज राहत वितरण गर्दा सहज भयो ।
वडाभित्रका २ सय ५० विपन्न घर परिवारलाई प्रतिपरिवार १५ किलो चामल, ५ किलो आलु, ५ किलो पिठो, २ किलो दाल, एक लिटर खाने तेल, एक किलो नुन र एउटा साबुन उपलब्ध गराइएको वडा अध्यक्ष रिजालले जानकारी दिनुभयो ।
केही वडामा वितरण गरिएको चामल गुणस्तरहीन रहेको पाइएपछि वडा नं. १ का अध्यक्ष रिजालले एक दिनअघि नै चामलको गुणस्तर जाँच गर्नु भएको थियो । वडा नं. १ को बोर्ड बैठकले विपन्न परिवारलाई राहत बाँड्दा पक्की घर भएका र जग्गा जमिन भएकालाई नदिने निर्णय नै गरेको थियो ।