संकटमा नागरिकको दायित्व
नेपालगञ्ज – कोभिड १९ ले संसारलाई हल्लाएको छ । अहिले विश्व नै यसको विरूद् लडिरहेको छ । संकटको यसबेला आमनागरिकको जीवन रक्षाका लागि सरकारले विशिष्ट कदम चालिरहेको छ। हाम्रो चिकित्सकिय हैसियतले कोभिड १९ लाई हराउन सक्ने अवस्था सहज छैन । यसैले सरकारले भाइरसको संक्रमणलाई रोक्नका लागि देशभर लकडाउन गरेको छ । सुरक्षित घरमा बस्नका लागि अनुरोध गरेको छ । यो अहिलेका लागि प्रभावकारी प्रयत्न हो ।
यस अघिको संसारको महामारीको अनुभवले भन्छ, महामारीविरूद्ध विजय ननमेडिकल इन्टरभेन्सनबाट सम्भव छ । यसैले सरकारको अहिलेको प्रयास र नागरिकको स्वतस्फुर्त सकारात्मक सहयोगले नेपालमा यो फैलिन पाउदैन ।
यो लकडाउनले महत्वपूर्ण कुराको इंगित गरेको छ । एक, यसले संक्रमणलाई फैलिन रोक्छ । दुइ, यसले सरकारलाई स्वास्थ्य सेवालाई मजवुत बनाउन पर्याप्त बेगका साथमा काम गर्ने वातावरण दिन्छ । यसले २ महत्वपूर्ण कुरामा असर समेत गरिरहेको हुन्छ । एक, दैनिक ज्यालादारी गर्नेहरूको लागि जीवन निर्वाह संकटमा पारेको छ । अर्को अत्यावश्यक सामाग्रीको वितरण प्रणालीमा असर गरेको छ ।
दैनिक ज्यालादारी गर्नेहरूलाई जीवन जिउन सहज बनाउनका लागि सरकारले प्याकेज बनाउन सक्ला । सहयोगी मनहरूले सहयोग गर्ने हुनसक्छ । वितरण प्रणालीलाई स्मुथ्ली बनाउन निजी क्षेत्रले सहयोग गर्नुपर्छ । किनभने निजी क्षेत्र नै अहिलेसम्म वितरण प्रणालीको जिम्मेवार लिएर बसेको छ ।
अहिले सरकारले होम डेलिभरीलाई संस्थागत गर्नका लागि स्थानीय तहलाई अधिकार दिएको छ । स्थानीय टोलहरूमा टोल कै मानिसहरूले वितरण प्रणालीलाई सहज बनाउनका लागि काम गर्न सक्छन् । र यसले अनावश्यक दुख पनि हुँदैन । र यसले कालोवजारीलाई पनि निमिट्यान्न पार्न सहयोग गर्छ ।
दुखको कुरा के हो भने यतिबेला केही नाफाखोरहरू कालोबजारी गर्ने ध्याउन्नमा छन् । हाम्रो लडाइ तिनका विरूद्ध हो । वितरण प्रणालीलाई चुस्त र दुरूस्त बनाउनका लागि मिलेर अघि बढ्नुको अब विकल्प छैन । सवाल चाहि मूल्यवृदि अझ भनो कालोवजारी नै हो । रानीतलाउ तरकारी मन्डीले भाउ सार्वजनिक गर्नुपर्ने भएपछि ५ दिन मन्डि बन्द गर्ने निर्णय सार्वजनिक भयो । यो घिनलाग्दो हर्कत रोक्नका लागि स्थानीय प्रशासनले कडा कदम चाल्न जरूरी छ ।
नेपालगञ्जको लागि उपमहानगरपालिकाले यो कामको शुरूवात गरेको छ । उसले वितरण प्रणालीलाई सहज बनाउनका लागि होम डेलिभरी दिने संस्थाहरूलाई अनुमती दिइरहेको छ ।
यो काम चुनैतीपूर्ण छ । यो काम कुनै एउटा समूह वा पसलले मात्र गर्न सक्ने हैसियत राख्दैन । नेपालगञ्जमा रहेका हजार भन्दा बढि पसलहरूका काम गर्नका लागि सयौंको संख्यामा होम डेलिभरी संस्थाहरू जोडिनु पर्छ ।
टोलस्तरमा यस्तो काम गर्नका लागि स्वयसेवीहरूको समूहहरू परिचालन हुन सक्छ । स्थानीय तहहरूले ती समूहहरूलाई सहयोग गर्न सक्छन् । सुरक्षित हुँदै सुरक्षाका मापदण्डहरू पालन गर्दै वितरण प्रणालीलाई अगाडि बढाउन सकिन्छ । नेपालगञ्जमा सोसलडिस्ट्यान्सको राम्रा अभ्यासहरूको शुरूवात भएका छन् ।
वितरण प्रणालीलाई चुस्त बनाउन सकियो भने दैनिक उपभोगका अत्यावश्यक सामाग्रीहरूको कालोवजारी मात्र रोकिदैन बरू ती सहज ढंगले उपभोक्ताहरूले प्राप्त गर्न सक्छन् ।
सजिलो पक्कै छैन, मेडिकल स्टाफहरूले फ्रन्टलाइनमा लडिरहेको लडाइमा हामीले सहयोग गर्ने हो । नागरिक हुनुको दायित्व हो यो ।