धनगढीका संक्रमित युवासँग नेपालगञ्ज को-को आए ?
नेपालगञ्ज – कोरोना संक्रमित धनगढीका ३४ वर्षीय युवा चैत्र ८ गते बुद्ध एयरमा काठमाडौंबाट नेपालगञ्ज हुँदै धनगढी गएको बताइएपछि प्रहरीले त्यो जहाजमा सवारहरुको खोजी थालेको छ ।
धनगढीका युवासँगै जहाजमा सवार रहेका व्यक्तिको पहिचान गरेर क्वारेन्टाइनमा राख्न प्रहरीले खोजी थालेको हो । बाँके प्रहरीले अहिले त्यो दिनको बुद्ध एयरमा कति जना सवार थिए । बाँकेका कति थिए भन्ने खोजी रहेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले धनगढीका युवा नेपालगञ्ज हुँदै गएको भनिएपछि त्यो दिनको जहाजमा सवार व्यक्तिको खोजी थालेको बताउनुभयो । ‘संक्रमितसँगै सवार रहेकाले उनीहरु पनि जोखिममा रहेको हुन सक्छ । उनीहरुलाई केही दिन क्वारेन्टाइनमा राख्नका लागि हामीले खोजी शुरु गरेका छौं, प्रवक्ता सिंहले भन्नुभयो ।
दुबई पुगेका युवा चैत्र ६ गते दिल्ली, ७ गते काठमाडौं, ८ गते नेपालगञ्जसम्म जहाजमा र यहाँबाट सार्वजनिक बसमा धनगढी पुगेको बताइएको छ । घर पुगेको केही दिनमा बिरामी भएका युवामा कोरोना संक्रमण देखिएको छ ।
यसैबीच, विदेशबाट आएका व्यक्तिमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले सबै ठाउँमा भारत तथा तेस्रो मुलुकबाट १४ दिनभित्र नेपाल आएका व्यक्तिलाई खोजी खोजी क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ ।
बाँकेमा अहिले २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । दश जना नेपालगञ्ज र १९ जना खजुराको सैनिकको क्वारेन्टाइनमा छन् ।