चोर बाटोमा प्रहरी

नेपालगञ्ज – बाँके प्रहरीले जमुनाहाको छोटी नाका (चोर बाटो)मा पनि प्रहरीले राखेको छ ।
मुख्य नाकामा सवारी साधन निषेध गरेर अनिवार्य स्वास्थ्य जाँच गरेपछि जमुनाहा आसपासका छोटी नाका (चोर बाटो) बाट मानिसले आवतजावत गरेपछि बाँके प्रहरीले शनिबार विहानदेखि त्यस्ता बाटोमा प्रहरी राखेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंह आफै नाकामा पुगेर छोटी नाकामा प्रहरी राखेका हुन् । त्यसका लागि जिल्लाबाट थप मद्दत टोली पठाइएको छ । मुख्य नाकामा सवारी साधन रोकिएपछि खुल्ला सीमाको फाइदा उठाउदै छोटी नाकाबाट आवतजावत थालिएको थियो । छोटी नाकामा बसेका प्रहरीले अब त्यहाँबाट जान जान नदिएर मुख्य नाकामा पठाउने छ । मुख्य नाकामा स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेश गर्न दिइनेछ ।
जमुनाहाको मुख्य नाकाबाट दैनिक ५ हजारबढी मानिस नेपाल भित्रिरहेका छन् । छोटी नाकामा कडाई गर्ने बित्तिकै त्यो संख्या अझ बढ्ने देखिन्छ । भारतबाट नेपाल आउनेहरुबाट कोरोनाको जोखिम बढी रहेकाले नेपाल प्रवेश गर्न दिइने नाकामा अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गर्न र छोटी नाकाबाट आवतजावत रोक्न चर्को दबाब बढिरहेको छ । यो जमुनाहा गाउँ आसपासमात्रै होइन, नरैनापुर, डुडुवा, खजुरा सबै ठाउँमा आवश्यक रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !