कारागारमा भेटघाट बन्द

नेपालगञ्ज – नेपालगञ्ज कारागार प्रशासनले कैदी बन्दीसँग भेटघाट बन्द गरेको छ ।
भेटघाटमा जाने व्यक्तिबाट कोरोना भाइरस सर्न सक्नेतर्फ सचेत हुँदै कारागार विभागले ‘बन्दी भेटघाट’ रोक्न परिपत्र गरेपछि नेपालगञ्ज कारागार प्रशासनले शुक्रबार साँझदेखि भेटघाट बन्द गरेको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
कारागार प्रशासनले विभागबाट अर्को निर्देशन नआउदासम्मको लागि भन्दै भेटघाट बन्दको सूचना जारी गरेको छ । बन्दीहरुलाई फोन सुविधा भने छदैछ । जेलर श्रेष्ठले भन्नुभयो, भेटघाट बन्द गरेका छौं । फोन सम्पर्क हुन्छ ।’
नेपालगञ्ज कारागारमा ८ सय ९ जना कैदी बन्दी छन् । त्यसमा ५२ जना महिला र एक बच्चा छन् । बन्दीलाई भेट्न दिनमा सय बढी मान्छे आउने गर्दथे । नेपालगञ्ज कारागारमा सोमबार, बुधबार र शुक्रबार भेटघाटको व्यवस्था मिलाइएको छ । त्यसअघि हप्तामा पाँच दिन भेट्न दिइन्थ्यो । ‘कोरोनाको डरले नै हप्तामा पाँच दिनदेखि तीन दिन भेटघाट हुने तालिका बनाएका थियौ, जेलर श्रेष्ठले भन्नुभयो, विभागले पठाएको पत्र शुक्रबार नै आएपछि भेटघाट बन्द गरेका छौं ।’
सरकारले मेला महोत्सव, सभामात्रै होइन, २५ जना भन्दा बढीको जमघट नगर्न निर्देशन जारी गरेको छ । अढाई सय क्षमताको नेपालगञ्ज कारागारमा आठ सय बढी बन्दी रहेका छन् । भेट्न गएका बाहिरी व्यक्तिबाट संक्रमण सर्ने बित्तिकै डरलाग्दो अवस्था हुने भएकाले विभागले केही समयका लागि भेटघाट बन्द गरेको जेलर श्रेष्ठको भनाई छ ।
नेपालगञ्ज कारागारमा लागु औषधीका बन्दी धेरै छन् । त्यसपछि जबरजस्ती करणी, कर्तब्य ज्यानका बन्दी छन् । क्षमता भन्दा तेब्बर बढी हुँदा बन्दीहरु कोचाकोचामा छन् । हिड्ने बरण्डामा समेत बन्दीहरु सुत्ने गर्दछन् । यस्तो भीडभाड रहेको ठाउँमा कोरोनाको जोखिम हुन नदिन कारागार प्रशासनले बेलैमा सतर्कता अपनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !