घुम्ती टोली बनाएर स्वास्थ्य परीक्षण गरिदै
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वाड नम्बर २ ले घुम्ती टोली बनाएर वडाबासीको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएका कारण त्यसबाट जोगिन वडास्तरमा सचेतना अभियान चलाउन शुरु गरिएको वडा अध्यक्ष सुनिलसिंह हमालले जानकारी दिनुभयो ।
वडा कार्यालयले घुम्ती टोली बनाएर भिडभाड हुने स्थानमा हेल्थ डेस्क राखेर वडाबासीको स्वास्थ्य परीक्षण गर्ने भएको छ । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको उपस्थितिमा बसेको सरोकारवाला निकायबीचको बैठकले टोलटोलमा जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
वडा अध्यक्ष हमालले जनचेतनामुलक प्रचार सामाग्री वितरण गरिने बताउनुभयो । वडा कार्यालयले तत्काल ५० हजार रुपैयाको कोष बनाएर कोरोना विरुद्धको अभियान सञ्चालन गर्न लागेको हो । जनप्रतिनिधि, कर्मचारी गैरसरकारी संघ संस्था, उद्योगी ब्यवसायी, आम समूह, बाल सञ्जाल, जेष्ठ नागकि सञ्जाल, स्वास्थ्य स्वयमसेविका सम्मिलित बैठकमा उपप्रमुख मगरले वडा कार्यालयले कोरोनाविरुद्ध शुरु गरेको अभियानको प्रशंसा गर्दै यसको प्रभावकारितामा जोड दिनुभयो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोरोना र यसबाट बच्ने उपायबारे सहजीकरण गर्नुभएको थियो ।