नेपालगञ्जबाट मिस नेपालको अडिसन

भीष्म लोध (नेपालगञ्ज) – यही फागुन ३० गते नेपालगञ्जमा मिस नेपाल २०२० को अडिसन हुने भएको छ ।
द हिडन टे«जरले मिस नेपाल २०२० को पहिलो अडिसन नेपालगञ्जबाट गर्न लागेको हो । बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर शुक्रबार नेपालगञ्ज पहिलो अडिसन गरिने जानकारी दिइएको छ ।
हिडन ट्रेजरका निर्देशक प्रमोद कंशकारले युवाहरुमा लुकेको प्रतिभा प्रस्फुटन गरि समाजमा अगाडी ल्याउने माध्यम मिस नेपाल रहेको बताउनुभयो । मिस नेपाल सम्मानित र समाजले सकारात्मक दृष्टिकोणले हेर्ने राष्ट्रिय प्रतियोगिताको रुपमा स्थापना भइसकेको उहाँले दावी गर्नुभयो ।
मिस नेपाल अडिसनका लागि नेपालगञ्ज आइपुग्नुभएकी मिस सुप्रा नेशनल २०१९ रोज लामाले मिस वल्र्ड, मिस नेपाल वल्र्डमा नेपालले राष्ट्रको गौरवलाई उच्च राख्दै उत्कृष्ट १२ मा पार्न सफल भएको बताउनुभयो । उहाँले मिस नेपालमा भाग लिएपछि विभिन्न विधामा चर्चित व्यक्तित्वहरुसंँग साक्षात्कारहरुको माध्यमले आमुल परिवर्तन ल्याउन सफल व्यक्तित्व बनाउन मद्दत मिल्ने बताउनुभयो ।
देशका विभिन्न ८ वटा शहरमा गरिने अडिसन धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, विरगञ्ज, धरान र विर्तामोडमा गरिनेछ । कोरोनाले प्रभावित नगरेसम्म मार्च २८ मा यसको अन्तिम अडिसन हुने आयोजकले जनाएको छ । नेपालगञ्ज अडिसनका लागि नेपालगञ्ज जेसीजले सहकार्य गरेको वर्ष २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो । यस पटकको मिस नेपालमा भाग लिनका लागि नयाँ आवेदन खुल्ला गरिएको छ । मिस नेपाल विजेतालाई यो वर्ष २ लाख ५० हजार पुरस्कार प्रदान गरिने छ ।


error: यो सुविधा उपलब्ध छैन !