विमानस्थलमा पनि हेल्थ डेस्क
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरापलिकाले नेपालगञ्ज विमानस्थल र जमुनाहा नाकामा कोरोना भाइरस जाँच डेस्क राखेको छ ।
विश्वमा आतंक मच्चाएको कोरोना भाइरस भित्रिन नदिन उपमहानगरपालिकाले जिल्लामा भित्रिने र बाहिरिने मानिसको स्वास्थ्य जाँच तथा परामर्श थालेको हो । नेपालगञ्ज विमानस्थल व्यस्तमध्येको एक विमानस्थल हो । यहाँ राजधानी तथा पहाडी जिल्लाबाट दैनिक ठूलो संख्याका मानिस आउने गर्दछन् । सीमावर्ती जिल्ला भएकाले भारतबाट भित्रिनेको संख्या पनि धेरै नै रहने गर्दछ ।
नाका र विमानस्थलमा हेल्थ डेस्क सतर्कता अपनाइएको छ । यसैबीच, बिहीबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा स्वास्थ्यसँग सम्बन्धितहरुको बैठकले कोरोना भाइरसबारेमा सचेत गराउने, शंकास्पद भेटिएमा छुट्टै राखेर उपचार गर्ने, काठमाडौं स्याम्पल पठाउनेलगायतको निर्णय गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।