सिडिओ सा‘पलाई जिस्क्याएको त्यो ‘माइकिङ’
नेपालगञ्ज – माइकिङ गरेको सवारी साधन त्रिभुवनचोकदेखि जिल्ला प्रशासन कार्यालयतिर अघि बढ्दै थियो । माइकमा भोली आउने कलाकारको नाम भनिदै थियो । बेजोड प्रस्तुती रहने प्रचार गरिदै थियो । सामान्य मान्छेको नजरमा त्यो माइकिङ एउटा महोत्सवको प्रचारमात्रै थियो ।
तर, त्यो माइकिङले कोरोना भाइरसले गर्दा मेला महोत्सव रोक्नु भन्ने सूचना निकाल्ने जिल्ला प्रशासन कार्यालय र त्यसको प्रमुख (सिडिओ) लाई जिस्क्याएकोजस्तो देखिन्थ्यो । तपाईले निकालेको सूचनाले हामीलाई केही गर्दैन भन्ने सन्देश दिएजस्तो लाग्थ्यो ।
नेपालगञ्जमा यतिबेला चिया, चोकबजारमा गफ गर्ने मेसो बनेको छ, महोत्सव अनि प्रदेश सरकारको आदेश । त्यसपछि जिल्ला प्रशासन कार्यालयले निकालेको सूचना । नेपालगञ्जमा महोत्सवलाई चल्न दिनु थियो भने जिल्ला प्रशासन कार्यालयले सूचना किन निकाल्नु पथ्र्यो ? प्रश्न गर्नेहरुले ठाउँ पाएका छन् । होइन भने, आफैले निकालेको सूचनालाई किन कार्यान्वयन गरिएको छैन ?
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भोली (शुक्रबार) देखि महोत्सव बन्द हुने बताउनुभयो । ‘कुरा भएको छ । भोलीदेखि बन्द होला, प्रजिअ खड्काले भन्नुभयो ।
कुरा अहिले चलेको महोत्सवको मात्रै होइन । मेला महोत्सव, सभा सम्मेलन गर्न रोक लगाउनु भन्ने आदेश आइसकेपछि स्थानीय प्रशासनले सबै बन्द गर्नु पर्छ । विश्वमा आतंक फैलाएको कोरोनाप्रति सजक हुँदै गरिएका निर्णयहरु कार्यान्वयन गर्नुपर्छ ।