स्वास्थ्य नीतिमा समेटिदै अस्पतालको फोहोर व्यवस्थापन

नेपालगञ्ज – नेपालगञ्जमा ठूल्ठूला अस्पताल छन् । आधा दर्जन ठूला अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ ।
अस्पतालबाट निस्किने फोहोर अरु फोहोर मिसाएर फाल्न पाइदैन । ल्याण्डफिल्ड साइट बन्नु अघिसम्म नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँमा अस्पतालको फोहोर फालिन्थ्यो । त्यतिबेला फोहोर फाल्ने ठाउँ आसपासका बासिन्दाले चर्को विरोध गरेपछि छुट्याउन थालिएको थियो । अस्पतालको फोहोर फाल्ने ठाउँ नै नपाएपछि फोहोर फाल्दै आएको निजी संस्थाले छोडेको थियो । त्यसपछि अहिलेसम्म अस्पतालले आफ्नै तालले फोहोर व्यवस्थापन गरिरहेका छन् । शिक्षण अस्पताल, भेरी अस्पताल, वेष्टर्नजस्ता ठूला अस्पतालबाट दैनिक धेरै फोहोर निस्किने गर्दछ ।
अस्पतालले पैसा तिर्छु भन्दा पनि फोहोर व्यवस्थापनमा चुनौती झेलिरहेका छन् । यो समस्या अन्ततः नेपालगञ्ज उपमहानगरपालिकामा आएर ठोक्किएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले अस्पतालको फोहोर व्यवस्थापनलाई स्वास्थ्य नीतिमै समेटेर अघि बढ्ने तयारी गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले अस्पतालको फोहोर व्यवस्थापन निजी कम्पनीलाई ठेक्का दिएर अघि बढ्ने तयारी गरेको जानकारी दिनुभयो । ‘अस्पतालको फोहोर व्यवस्थापन अहिले चुनौती बनेको छ । अब हामीले यसलाई स्वास्थ्य नीतिमा समेट्दैछौं, चन्दले भन्नुभयो, निजी कम्पनीलाई ठेक्का दिएर अघि बढ्छौं ।’
अस्पतालबाट निस्किने फोहोरलाई अन्य फोहोरसँगै फाल्न मिल्दैन । अस्पतालको फोहोरलाई न त ल्याण्डफिल्ड साइटमै फाल्न मिल्छ । अस्पतालबाट निस्किने सिरिजजस्ता हानिकारक फोहोरलाई निर्मूलीकरण गरेर फाल्नु पर्छ ।
निजी कम्पनीलाई ठेक्का दिएपनि उनीहरुले कहाँ लगेर फाल्छन्, चुनौती ज्यूँका त्यूँ नै देखिन्छ । ठेकेदार कम्पनीले आफैले जग्गा खोल्ने र निर्मूलीकरण गर्ने उपकरण खरिद कि नेपालगञ्ज उपमहानगरपालिकाले त्यसको व्यवस्थापन गर्न स्पष्ट भइसकेको छैन । नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापनको जिम्मा लिइदिंदा अस्पताल प्रशासनलाई भने केही राहत मिल्ने देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !