हात्तीपाइलेविरुद्ध अभियान : औषधी खाने १३ प्रतिशत बढे
भीष्म लोध (नेपालगञ्ज) – नेपालगञ्जमा हात्तीपाइले रोग निवारणबिरुद्धको औषधी सेवन गर्ने बढेका छन् । नेपालगञ्जमा औषधी खाने १३ प्रतिशत बढेको हो ।
जनचेतना बढाइएकाले औषधी खानेको प्रतिशत बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । नेपालगञ्जमा १ लाख ७३ हजार ७ सय ९४ जनाले औषधी खाएका छन् । यो ५२ प्रतिशत हो ।
नेपालगञ्जमा सबैभन्दा बढी वडा नम्बर १८ मा ८३ दशमलव ७ प्रतिशतले औषधी सेवन गरेका छन् । वडा नम्बर २१ मा ८२ दशमलव ६ प्रतिशत र वडा नम्बर १० मा ७० दशमलव ५ प्रतिशतले औषधी सेवन गरेका छन् ।
स्वास्थ्य शाखाको तथ्यांक अनुसार, औषधी खानुपर्ने समूहको संख्यामध्ये २ देखि ५ वर्षका उमेरका जम्मा ६ हजार ५ सय ३ जनाले औषधी खाएका छन् । जसमा ३ हजार १ सय ७९ जना महिला र ३ हजार ३ सय ५९ जना पुरुषको संख्या रहेको छ ।
६ देखि १५ वर्ष समूहका २२ हजार ६ सय ६९ जनाले औषधी खाएका छन् । जसमा १० हजार ८ सय ३ जना महिला र ११ हजार ८ सय ६६ जना पुरुषको रहेका छन् । १५ वर्ष माथिका ६१ हजार १ सय २५ जनाले औषधी खाएका छन् । जसमा ३० हजार ५ सय ९३ महिला र ३० हजार ५ सय ३२ पुरुष छन् । ४४ हजार ५ सय ७५ जना महिला र ४५ हजार ७ सय ५७ जना पुरुष गरी नेपालगञ्जका जम्मा ९० हजार ३ सय ३२ जनाले औषधी सेवन गरेका छन् । अभियानका क्रममा बुथमा गएर १० हजार ८ सय ९४ जनाले खाएका छन् भने घरभेटमा ७९ हजार ४ सय ३८ जनाले औषधी सेवन गरेको नेपालगञ्जका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
अभियानका क्रममा हात्तीपाइलेसँग सम्बन्धित १ सय ४६ जना रोगीहरु फेला परेका छन् । हात खुट्टा सुन्निएका ३७ महिला र २५ पुरुष जना छन् । त्यस्तै हाइड्रोसिल भएका ७५ जना पुरुष छन् भने हात, स्तन वा अन्य प्रभावित ५ महिला र ४ जना पुरुष भेटिएका हुन् ।
माघ २५ देखि फागुन ५ गतेसम्म सञ्चालन भएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत यस वर्ष नेपालगञ्जका जम्मा ४९ दशमलव ३ प्रतिशत महिला र ५० दशमलव ६ प्रतिशत पुरुषले औषधी खाएका छन् । सतप्रतिशत औषधी खुवाउने तयारी अनुरुप नेपालगञ्जमा ६ सय ९९ सय जना जनशक्ति परिचालन गरिएको थियो । गत आर्थिक वर्ष २०७५÷०७६ मा भने नेपालगञ्जका ३९ प्रतिशतले मात्र औषधी खाएका थिए ।