पुलिस बन्यो च्याम्पियन

नेपालगञ्ज – नेपालगञ्जमा जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौ संस्करणको उपाधी नेपाल पुलिस क्लवले जितेको छ ।
नेपालगञ्ज रंगशालामा चलेको प्रतियोगिताको फाइनलमा पुलिसले एपीएफ क्लवलाई सोझो सेटमा पराजित गरेर उपाधी जितेको हो । उपाधीसँगै प्रहरीले दुई लाख रुपैया पुरस्कार पाएको छ । एपीएफले एक लाख र तेस्रो स्थानमा आएको नेपाल आर्मीले ५० हजार पाएको छ ।
प्रहरीले एपीएफलाई २५–१६, २५–१७ र २५–१८ ले पराजित गरेको थियो । प्रहरीले एपीएफसँग बेनी र ढोरपाटन कपको फाइनलमा पराजित भएको बदला लिएको छ । प्रधानमन्त्री कपको उपाधी प्रहरीले दोस्रो पटक जितेको हो । यसअघि पहिलो संस्करण प्रहरीले जितेको थियो । एपीएफ प्रधानमन्त्री कपको उपाधीमा ह्याट्रिक गर्नबाट चुकेको छ । एपीएफले दोस्रो र पाँचौं संस्करण जितेको थियो । राष्ट्रिय स्टार सरस्वती चौधरी र निविका चौधरी घाइते हुँदा एपीएफलाई ठूलो घाटा भएको छ ।


प्रहरीका प्रशिक्षक रुपेश विष्टले टीमले आत्मबलका साथ खेलेको बताउनुभयो । ‘आज हाम्रो खेलाडीले सोचेभन्दा राम्रो खेले, प्रशिक्षक विष्टले भन्नुभयो, यसपाली हामीले उपाधी जित्छौं भन्ने मलाई लागेको थियो ।’
एपीएफका व्यवस्थापक विजयकुमार केसीले ब्लक र डिफेन्स नहुँदा पराजित भएको बताउनुभयो । उहाँले सरस्वती र निविका नहुँदा घाटा भएको बताउनुभयो । ‘पूजा चौधरीको डेब्यु थियो । निरुता ठगुन्ना पनि भर्खर भर्खर टीममा छन्, केसीले भन्नुभयो, मुख्य दुई खेलाडी नहुँदा हामीलाई खल्यो ।’ एपीएफले चालु आर्थिक वर्षमा सात वटा उपाधी जितिसकेको छ । आठौ उपाधीमा भने प्रहरी बाधक बनेको छ । गतवर्ष एपीएफले ११ वटामध्ये १० वटा उपाधी जितेको व्यवस्थापक केसीले जानकारी दिनुभयो ।


नेपाल आर्मीले न्यू डायमण्डलाई पराजित गरेर तेस्रो स्थान जित्यो । आर्मीले न्यू डायमण्डलाई २५–२१, २५–२० र २५–२० को सोझो सेटमा पराजित गरेको थियो । स्टार खेलाडी प्रतिभा माली नहुँदा न्यू डायमण्डको प्रदर्शन कमजोर हुन पुगेको थियो ।
प्रतियोगितामा वेष्ट प्लेयर प्रहरीका उषा भण्डारी हुनुभयो । वेष्ट स्पाइकर एपीएफका निरुता ठगुन्ना, वेष्ट ब्लकर आर्मीका संगम महतो, वेष्ट सेटर प्रहरीका कमला पुन, वेष्ट लिब्रो न्यू डायमण्डका सलिना श्रेष्ठ र वेष्ठ सर्वर प्रहरीका मनिषा चौधरी हुनुभयो ।
प्रथम, द्वितिय र तृतिय हुने टीम, विधागत उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, गाउँपालिकाका उपप्रमुख एकमाया विक, धनीकुमारी खत्री, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !