होचो कदकी अग्ली खेलाडी सलिना
नेपालगञ्ज – भलिबल भन्ने बित्तिकै सबैको दिमागमा खेलाडीको चित्र बन्छ, अग्लो । ६ फुटेको बाहुल्यता हुन्छ भलिबलमा ।
अग्लो मान्छेको बाहुल्यता हुने भलिबलमा सलिना श्रेष्ठ पृथक नाम हो । चार फिट १० इन्चकी नेपालकै भलिबल टीमको लिब्रो सलिनाले नेपालगञ्जमा सम्पन्न भएको छैठौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा दर्शकको मन जितिन् । ‘ओ हो ! ती होचो खेलाडी, कति राम्रो खेल्दो रै’छ, नेपालकै राष्ट्रिय टीमकी सदस्य हुन भन्ने थाहा नपाएका दर्शकको सलिनाप्रतिको प्रतिक्रिया थियो ।
प्रतियोगितामा वेष्ट लिब्रोको पुरस्कार जितेकी सलिनाले विपक्षी स्पाइकरले हानेको जस्तैसुकै प्रहार उठाइरहेकी थिइन् । सात कक्षा पढ्दादेखि भलिबल खेल्न थालेकी सलिना न्यू डायमण्डको मात्रै होइन, नेपाली भलिबल टीमकै एक खम्बा हुन् । होचो कद भएपनि ‘भलिबल कला’ भएकाले सलिनालाई भलिबलले पछ्याइरहेको छ । फुटबलमा गोल गर्ने स्ट्राइकर, भलिबलमा सट हान्ने स्पाइकरको जति चर्चा अरु खेलाडीको हुँदैन । तर, त्यही चर्चित मानिने स्पाइकरको पावर सटलाई उठाएर टीमलाई सहज रुपमा बल उपलब्ध गराउने सलिनाजस्ता खेलाडीले पाउने वाहवाही पनि कम हुँदैन ।
नेपालमा भलिबल भन्ने बित्तिकै अगाडि आउने नाम हो, न्यू डायमण्ड । खेल्ने नै जागीर खाएका विभागीय टीमलाई सधैं आच्छु–आच्छु पार्छ यसले । नेपालमा हुने ठूला भलिबल प्रतियोगितामा प्रायः फाइनलमा एपीएफ र न्यू डायमण्ड पुगेको देखिन्छ । चालु आर्थिक वर्षमा सात ठूला प्रतियोगिता न्यू डायमण्ड ५ पटक फाइनलमा पुगेको थियो । न्यू डायमण्डलाई त्यो उचाईमा पु¥याउन प्रतिभा माली, सलिना श्रेष्ठ, अरुणा शाहीहरुको मुख्य योगदान हुने गर्दछ ।
देशकै प्रतिष्ठित प्रतियोगिता बन्दै गएको प्रधानमन्त्री कपमा यसपाली सलिनाको टीमले राम्रो गर्न सकेन । प्रतिभा माली नहुँदा टीमलाई खल्नु खल्यो । नेपालगञ्ज–६ लाई सोझो सेटमा जित्नु बाहेक विभागीय टीमसँग सबै खेल सोझो सेटमै पराजित भयो । न्यू डायमण्डले अहिलेसम्म नेपालगञ्जको प्रधानमन्त्री कपको उपाधी नजिक नजिक पुगेर पनि जित्न सकेको छैन । पाँचौं संस्करणमा उसले जीत नजिक पुगेर गुमाएको थियो ।