फोहोर पानी र धुँवाधुलोले विभिन्न समस्या

नेपालगञ्ज – ग्रामीण भेगका बालबालिका तथा वयस्कहरुमा फोहोर पानी, धुँवा धुलोका कारण आँखामा र विभिन्न स्वास्थ्य समस्या सिर्जना भएको चिकित्सकहरुले बताएका छन् ।
बाँके जिल्लाको राप्ती पारीको नरैनापुर गाउँपालिकाअन्तर्गत वडा नम्बर ५ को मटेहिया गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका अधिकाँश ग्रामीण समुदायका मानिसहरुको स्वास्थ्य परीक्षण पछि चिकित्सकहरुले सो कुरा बताएका हुन् ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा ३ सय ९२ जना सर्वसाधारण लाभान्वित भएका छन् ।
आयोजक संस्थाका अध्यक्ष लता शर्माले दिनु भएको जानकारी अनुसार, शिविरबाट १ सय ८६ जना महिला र २ सय ६ जना पुरुष समेत ३ सय ९२ जना सर्वसाधारणको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।


शिविरमा सबभन्दा कम उमेर १८ महिनाका बालबालिकादेखि १ सय वर्षीय वृद्ध तथा ७५ वर्षीया महिलाले स्वास्थ्य परीक्षण गराएको अध्यक्ष शर्र्माले जानकारी दिनुभयो । एक सय वर्षीय अलि रज्जा शेखले पनि स्वास्थ्य परीक्षण गरी आषौधी निःशुल्क पाएकोमा दङ्ग परेका थिए ।
शिविरमा स्वास्थ्य परीक्षणमा संलग्न नेपालगञ्ज मेडिकल कलेजका डा. मोहम्मद आजाम र डा. जिया खानका अनुसार बाथ रोगको समस्या, कानबाट पानी र पिप बग्ने, छालाको समस्या, दम, आथराइटिस, हाइपरटेन्सन, फङ्गल इन्फेक्सन, उच्च रक्त चाप, मधुमेह, छाती र पेट दुख्ने, जिउ दुख्ने, चिलाउने आदि सम्बन्धि समस्याबाट गाउँलेहरु पीडित देखिएका थिए । महिलाहरुमा पाठेघरको समस्या, रजस्वला अनियमितता, रक्त अल्पता, बच्चा नपाउने समस्या, सेतो पानी बग्ने लगायतका समस्या देखिएको छ ।
स्थानीय महेन्द्र माध्यमिक विद्यालय परिसरमा सञ्चालित सो शिविरमा विद्यालयका प्रधानाध्यापक सन्तोष तिवारीले आफ्नो विकट गाउँमा आएर अत्यन्तै विपन्न समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षण र गुणस्तरीय औषधी समेत निःशुल्क उपलब्ध गराएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
उहाँले आफ्नो वडाका विपन्न वर्गका धेरै सर्वसाधारण र विशेषगरि अधिकाँश जेष्ठ नागरिकहरु लाभान्वित भएको बताउनु भयो ।
आयोजक संस्थाका उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, नितेश गिरी, निखिल जायसवाल, रमण कुमार शर्मा, महिला बचत तथा ऋण परिचालन समन्वय समिति केन्द्र नं. ७ की अध्यक्ष कृष्णा खत्री, स्वास्थ्यकर्मीहरु राजेन्द्र वर्मा, स्मारिका श्रेष्ठ, सिर्जना धौलाकोटी लगायतले सहयोग गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !