अब कहाँ होला, सडक खाना महोत्सव ?

नेपालगञ्ज – स्थानीय प्रशासनले सुर्खेतरोडको धम्बोझी आसपासमा सडक खाना महोत्सव गर्न नदिएपछि आयोजक अर्को ठाउँ खोज्नतिर लागेका छन् ।
दुई-चार दिन पछि भएपनि सडक खाना महोत्सव गर्ने अठोट गरेको होटल अर्गनाइजेशन बाँकेले सुर्खेतरोडको धम्बोझी आसपासमा नभएपनि अन्यत्र सडक खाना महोत्सव लगाउने जनाएको छ । होटल अर्गनाइजेशन बाँकेका अध्यक्ष भीम कँडेलले धम्बोझीबाहेक दुई ठाउँमा हेरेको र स्थानीय प्रशासनसँग सल्लाह गरेर फिक्स गर्ने बताउनुभयो ।
होटल अर्गनाइजेशनले धम्बोझी कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भागमा फाल्गुन २३ देखि २५ गतेसम्म सडक खाना महोत्सव लगाउने तयारी गरेको थियो । यो व्यस्त सडकमा सडक खाना महोत्सव गर्न नदिने स्थानीय प्रशासनको अडानले आयोजक अन्यत्र सर्न थालेका हुन् । ‘तयारी अघि बढिसकेकाले हामी सडक खाना महोत्सव गर्छौ । कहाँ गर्छौ, आज बैठक बसेपछि फिक्स हुन्छ, कँडेलले भन्नुभयो, अन्यत्र व्यस्त सडकमै खाना महोत्सव हुन्छ । यहाँ किन हो खोई स्थानीय प्रशासनले धम्बोझीमा दिएन ।’
सडक खाना महोत्सव गरेर नेपालगञ्जका विभिन्न धर्म, सम्प्रदायका मौलिक खानाहरुको स्टल राखेर बजारीकरण तथा प्रवद्र्धन गर्ने आयोजकले जनाएका छन् । साँझ ६ देखि १० बजेसम्म भब्य लाईट, टेन्टसहितको व्यवस्था गरेर महोत्सव गरिदैछ । महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढी स्टल समावेश गर्ने तयारी गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !