प्रधानमन्त्री कप भलिबल : एपीएफ र पुलिस विजयी

नेपालगञ्ज – प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लव र नेपाल पुलिस क्लवले विजयी शुरुवात गरेका छन् ।
छैठौ संस्करणको उद्घाटन खेलमा एपीएफले नेपाली सेनालाई ३–१ सेटमा स्तब्ध पारेको हो । पहिलो सेट पराजित भएको एपीएफले त्यसपछि लगातार तीन सेट जितेको थियो । पहिलो सेट सेनाले २५ – २३ ले जितेको थियो । अन्तिममा लय बिग्रिदा एपीएफ पहिलो सेटमा पराजित हुन पुगेको थियो । एपीएफको २२ अंक हुँदा सेनाको १९ अंक थियो । त्यस्तो अवस्थालाई उल्टाएर सेनाले पहिलो सेट जितेको थियो ।
राष्ट्रिय खेलाडीले भरिएको एपीएफ दोस्रो सेटमा पनि शुरुवाती चरणमा पछि परेको थियो । एपीएफको ११ हुँदा सेनाको १९ अंक थियो । यो अवस्थामा एपीएफ खेलमा फर्किएर २७–२५ ले जित्यो । एपीएफले तेस्रो सेट २५–१७ ले सजिलै जित्यो । चौथो सेटमा सेनाले टक्कर दिएपनि २५–२३ ले पराजित हुन पुग्यो । एपीएफका रेशमा भण्डारी ओमन अफ द म्याच हुनुभयो ।


एपीएफ प्रतियोगिताको दावेदार टीम हो । एपीएफका रेशमा भण्डारी, हिरा केसी, निरुता ठगुन्ना, उषा विष्ट राष्ट्रिय टीममा छन् । सिनियर बिनिता बुढाथोकी बिच भलिबलको राष्ट्रिय खेलाडी हुन् । एपीएफका सरस्वती चौधरी र निविका चौधरी घाइते भएकाले नेपालगञ्ज आएका छैनन् । एपीएफका प्रशिक्षक महेश चौधरीले दुई जना खेलाडी घाइते हुँदा अलिकति अप्ठेरो परेपनि खेल जितिएको बताउनुभयो । एपीएफले चालु आर्थिक वर्षमा सात वटा उपाधी जितेको छ । एपीएफले प्रधानमन्त्री कपको उपाधी दुई पटक जितिसकेको छ ।
सेनामा सोफिया पुन, सुनिता खड्का र जानकी भण्डारी राष्ट्रिय टीममा परेका छन् ।
अर्को खेलमा नेपाल पुलिस क्लवले न्यू डायमण्डलाई सोझो सेटमा पराजित गरेको छ । नेपाल पुलिस २५–१८, २५–१६, २५–७ ले विजयी भयो । न्यू डायमण्डमा प्रतिभा मालीको अभाव खट्कियो । नेपाली राष्ट्रिय महिला भलिबल टीमका कप्तान अरुणा शाहीसहित सलिना श्रेष्ठले नेपाल पुलिसका कमला पुन, उषा भण्डारी र पुनम चन्द, मनिषा चौधरी, कोपिला उप्रेतीलाई रोक्न सकेनन् ।


बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौ संस्करणको ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रतियोगिताले ५ नम्बर प्रदेशको गौरव बढाएको बताउनुभयो । प्रतियोगिताका मूल आयोजक समितिका संयोजक कृष्णा केसी नमूनाले प्रतियोगितालाई दक्षिण एशियाली स्तरको बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा पाँच वटा टीमको सहभागिता रहेको छ । एपीएफ, नेपाली सेना, नेपाल पुलिस क्लव, न्यू डायमण्ड र ५ नम्बर प्रदेशको नेपालगञ्ज–६ ले प्रतिस्पर्धा गर्दैछन् । भारतबाट आउने भनेको दुई वटा टीम अन्तिममा आउन सकेनन् । बंगलादेश, माल्दिभ्य र श्रीलंका टीम कोरोना भाइरसका कारण आउन नसकेको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !