सहकारी पीडितको प्रदर्शन

नेपालगञ्ज – सहकारी वित्तीय संस्था लिमिटेडका पीडितहरुले नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।
सहकारीका उच्च पदस्थ अधिकारीहरुले रकम हिनामिना गरेपछि पीडित बनेका बचतकर्ताहरुले संघर्ष समिति बनाएर निरन्तर आन्दोलन गरिरहेका छन् । संघर्ष समितिका संयोजक विजय गुप्ताको अगुवाईमा बुधबार पीडितहरुले जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको मुख्य ढोकामा निरन्तर प्रदर्शन भइरहेपछि मेयर डा. धवलशमशेर राणा आएर सम्बोधन गरेका थिए । पीडितको रकम फिर्ताका लागि सहयोग गर्न मेयर राणालाई आग्रह गरिएको थियो ।
सहकारीको ५२ करोड रुपैया हिनामिना भएको छ । उच्च पदस्थ अधिकारीहरु फरार छन् भने आधा दर्जन कर्मचारीहरु पुर्पक्षका लागि थुनामा पुगेका छन् । प्रहरीले झण्डै चार दर्जनविरुद्ध मुद्दा चलाएको छ ।


गाउँगाउँका सोझा जनता खाइ नखाइ जम्मा गरेको रकम डुब्दा पीडित बनेका छन् । प्रहरीले भागेका उच्च पदस्थ अधिकारीलाई पक्राउ गर्न नसक्दा पीडितहरु आक्रोशित भएका छन् । एकातिर रकम हिनामिना गरेकोलाई कारबाही गराउनु परेको छ भने अर्कोतिर आफ्नो रकम फिर्ता कसरी पाइन्छ भन्नेमा पीडितहरु चिन्तित रहेका छन् । सम्बद्ध पक्षले रकम हिनामिना गर्नेलाई समात्ने र आफूहरुको पैसा फिर्तामा ढिलाई गरिरहेको पीडितको आरोप छ । त्यही भएर पीडितहरुले आफूहरुको मानव अधिकारको रक्षा गर भन्दै सडकमा कराइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !