कसरी पुग्यो म्याद नाघेको औषधी ?

नेपालगञ्ज – फाल्गुन ४ गते दुई जना स्वास्थ्यकर्मी आज्ञाराम लोनियाको घरमा पुगे । एक महिला र एक पुरुष थिए । महिलाले आज्ञारामको घरमा हात्तीपाइले रोगविरुद्ध र जुकाको औषधी दिइन् । घरका परिवार संख्या गनेर औषधी दिइएको थियो । औषधी पत्तामै थियो ।
आज्ञारामका १३ जना परिवारमध्ये नौ जनाले औषधी खाए । आज्ञाराम र दुई छोरीले औषधी खाइसकेका थिएनन् । एक जना घरबाहिर छन् । डुडुवा गाउँपालिका वडा नं. २ उत्तरबाणीका आज्ञारामले औषधी खानु अघि म्याद हेरे । औषधीको म्याद गुज्रिसकेको थियो । आफ्नो घरमा मात्रै यस्तो परेको हो कि भनेर छिमेकी राजकुमार लोनियाको घरमा पुगे । त्यहाँ दुईथरीका पत्ता थिए । एउटा पत्ताको म्याद २०१९ थियो भने अर्कोको २०२० थियो ।
गाउँमा हल्लीखल्ली भयो । गाउँपालिका हुँदै जिल्ला स्वास्थ्य कार्यालयसम्म खबर आयो । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख धनबहादुर बुढामात्रै होइन, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह नै पत्रकार सम्मेलन गर्न आइ पुग्नुभयो । स्वास्थ्य कार्यालयले पछिल्लो दुई वर्षदेखि त्यो ब्याचको औषधी नै नचलाएको जनाएको छ । आफूहरुमार्फत त्यो म्याद नाघेको औषधी लोनियाको घरमा नपुगेको दावी गरेको छ ।
यदि त्यसो हो भने म्याद नाघेको त्यो औषधी कसरी त्यहाँ पुग्यो ? आज्ञाराम भन्नुहुन्छ, ४ गते दुई जना स्वास्थ्यकर्मी आएर दिए । स्वास्थ्य कार्यालयका प्रमुख शाहको भनाई छ, हामीले दुई वर्षदेखि त्यो ब्याचको औषधी नै चलाएका छैनौ ।
सरकारले राष्ट्रिय हात्तीपाइले रोगविरुद्धको अभियानमा डाइ इथाइल काब्रामेजिन औषधी बाँडिरहेको छ । लोनियाको घरमा डब्लु ६६३५८ नम्बर ब्याचको औषधी पुगेको थियो । जुन २०१९, ११ महिना म्याद सकिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयले यो ब्याचको औषधी पछिल्लो दुई वर्षदेखि वितरण नगरेको जनाएको छ । कार्यालयका प्रमुख शाहले यो वर्ष डीएफ ८७१६ नम्बर ब्याचको औषधी वितरण गरेको जानकारी दिनुभयो । यसको म्याद २०२१, १० महिना ३१ गतेसम्म रहेको छ । गतवर्ष एएल १९६१ नम्बर ब्याचको औषधी बाँडिएको थियो । जसको अवधि २०२०, १२ महिना ३१ गतेसम्म रहेको थियो ।
डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बुढाले पुरानो औषधी स्टक नै नरहेको बताउनुभयो । स्वास्थ्य अधिकारीहरुले त्यो औषधी नै नरहेकाले जनताको घरमा कसरी पुग्यो आश्चार्य मानिरहदा म्याद गुज्रेको औषधी खाएका लोनियाका घरपरिवार अब के हुने हो भन्ने डरमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !