सामाजिक काममा रोकाय
नेपालगञ्ज – लागु औषधीको लतमा फसेका व्यक्तिलाई घरपरिवार, समाजले छिछि, दूरदूर गरेको पाइन्छ । लागु औषधीमा फसेर सुध्रिने चाहनेहरुलाई पछि त्यो व्यवहारले घोच्ने गर्दछ । त्यही भएर त सुधार गृहमा बसेर फर्किएकाहरु पनि पुनः पुरानो कर्ममा फर्किने गर्दछन् ।
सुध्रिन चाहनेलाई घरपरिवार, समाजले माया गर्नुपर्छ । त्यो मायाले गर्दा उसको जीवनमा ठूलो अर्थ राख्छ । सुध्रिनमा मद्दत पुर्याउँछ । व्यवसायी ताराकुमारी खत्री रोकाय यो कुरा बुझ्ने मध्येमा पर्नुहुन्छ । विशेष गरेर अनाथ, असहाय महिला र बालबालिकाको क्षेत्रमा काम गर्न रुचाउने रोकायले आफ्नो ४३ औं जन्म दिन मनाउदा त्यही कुलतमा फसेर सुध्रिने प्रयासमा रहेकाहरुसँग खुशी साट्नुभयो ।
आदर्शनगरमा रहेको नवकिरण पुनस्र्थापना केन्द्रमा पुगेर त्यहाँ रहेका ५२ जना पूर्व लागु औषधी प्रयोगकर्तासँग सँगै भोजन गर्नुभयो । पैसा हुनेहरुले ठूल्ठूला होटलमा जन्म दिन मनाइरहदा रोकायले लागु औषधी प्रयोगकर्ताहरुलाई सुध्रेर समाजमा केही गर्नुपर्छ भन्ने सन्देश दिदै नवविकरणमा जन्म दिन मनाउनुभयो । प्रदेश सांसद कृष्ण केसी, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर ओली, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलगायतलाई राखेर रोकायले सुधार गृहमा बसेकाहरुलाई सुध्रिएर समाजका लागि केही गर्न सन्देश दिनुभयो ।
समाजमा सानो ठूलो कोही हुँदैन । उसको कर्मले त्यो पदबी दिलाउने गर्दछ । नेपालगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान उपमहासचिव रोकायले अतिथि बनेको राज्यका उच्च तहका व्यक्तित्वलाई जुन टोपी लगाइदिनु भयो त्यही टोपी समाजमा केही गर्न अग्रसरता देखाउदै सुध्रिने प्रयासमा रहेकाहरुलाई लगाइदिनुभयो । ‘हामीले पनि समाजका लागि केही गर्नु पर्छ भन्ने भावना महसुस गराउन मैले यसो गरेको हुँ, रोकायले भन्नुभयो ।
रोकायले जन्म दिनकै अवसरमा पूर्णतारा फाउण्डेसन स्थापना गर्नुभयो । त्यसमा पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैया राखिएको छ । फाउण्डेसनले अनाथ, असहाय महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने रोकायले जानकारी दिनुभयो ।
रोकायले हरेक पटकको जन्म दिनमा फरक फरक ठाउँमा पुगेर गरीव, सहायक, अनाथसँग खुशी साट्दै आउनु भएको छ ।